स्थानीय तह निर्वाचनको तयारी पूरा



मनाङ, (नेस) ।

हिमाली जिल्ला मनाङमा स्थानीय तहको निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायतका आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका अधिकारी पुष्पराज शर्माले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहको निर्वाचनका लागि मनाङमा ६ वटा मान्यता प्राप्त दलबाहेक ५ वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रूपमा सक्रिय छन् । यीमध्येका अधिकांश दलहरूले चुनावी अभियान थालिसकेका छन् । मुख्य दलहरू चुनावी अभियान लिएर गाउँका टोलटोलमा पुगेका छन् ।

दलहरूले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना काम अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत तोकिएसँगै निर्वाचनको लागि स्थानीय तहमा कार्यालय स्थापनादेखिका तयारी शुरू हुने उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनाललाई यहाँको चामे गाउँपालिका हेर्ने गरी जिम्मेवारी सुम्पिएको छ ।

निर्वाचन आयोगले मनाङको नासोँ गाउँपालिकामा तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा केदारनाथ उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । निर्वाचत अधिकृतलाई स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सीसीटीभी क्यामरा, इन्टरनेटजस्ता आवश्यक सुविधा मिलाउने जिम्मेवारी दिइएको छ । मतदान र मतगणनाको जानकारी आयोगमा दृश्य र अडियो दुवै माध्यमबाट गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गर्ने गरी तोकिएको उहाँले बताउनुभयो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनाङमा २८ वटा मतदान स्थललाई नै मतदान केन्द्र निर्धारण भएको शर्माले बताउनुभयो । मनाङमा ६ हजार ४ सय ९६ जना मतदातामध्ये ३ हजार ३ सय ४८ जना महिला र ३ हजार १ सय ४८ जना पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । मनाङ जिल्लामा देशभरबाट सबैभन्दा कम मतदाता रहेको जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्