‘मूल्य वृद्धि समायोजन नभए निर्माण क्षेत्र ठप्प पार्छाै’

निर्माण व्यवसायी संघ काभ्रेको ७ औं अधिवेशन



काभ्रे ।

सरकार फेरिए नै पिच्छे ल्याउने खरिद ऐन तथा नीतिगत अस्पष्टताका कारण निर्माण क्षेत्रमा निरन्तर समस्या भइरहेको व्यवसायीहरूले निष्कर्ष निकालेका छन् । साथै व्यवसायीहरूले तत्काल वृद्धि भएको मूल्य समायोजन हुन नसके निर्माण क्षेत्रमा भएका सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

निर्माण व्यवसायी संघ काभ्रेको १२ वार्षिकोत्सव तथा ७ औ जिल्ला अधिवेशनमा सहभागी भएका केन्द्रीय, प्रदेश तथा विभिन्न जिल्लाका पदाधिकारीहरूले निर्माण क्षेत्र भित्र भएका विकृति विसंगति भित्र्याउने काममा सरकार जिम्मेवार रहेको बताएका थिए । अध्यक्ष उपेन्द्र घिसिङ्गले नीतिगत समस्याका कारण व्यवसायीहरू संकटमा परेको बताए । मूल्यवृद्धि समायोजन भएन भने व्यवसायीहरूले कबोल गरेको दररेटमा बाहेक काम गर्न नसक्ने बताउँदै तत्कालै सरकारलाई मूल्यवृद्धि समायोजन गर्न, जिल्ला दररेटलाई चार चार महिनामा समायोजन गर्न माग गरेका छन् ।

केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले पछिल्लो पटक संशोधन गरेको खरिद ऐनमा केही प्रावधानहरू राम्रा भए पनि सहकारीलाई ५० ठेक्का पट्टाको काम गर्न दिने व्यवस्था गलत भएको बताए । बागमती प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले मुलुक निर्माणको संवाहक रहेका ब्यवसायीहरुलाई हतोत्साहित हुने कुनै गतिविधि नगर्न सरकारलाई अनुरोध गरे । व्यवसायीहरूका समस्या समाधानमा राज्य अनुदार हुन नहुने बताउँदै पूर्व मन्त्री लामाले ब्यवसायीहरुको हक हितका लागि संघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, केन्द्रीय पदाधिकारीहरू, विभिन्न प्रदेश र जिल्लाका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । जिल्लाका वरिष्ठ उपाध्यक्ष विजय लामाले व्यवसायीहरू बिचको अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने बताए । ६ सय व्यवसायीहरू आबद्ध संघको बन्द सत्रले नयाँ समिति निर्वाचित गर्नेछ । अधिवेशनको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्