विषजस्तो चिनी नखाए के हुन्छ ?



-डा. अरुणा उप्रेती

‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले चिनीको प्रयोग कम गर्नका लागि विश्व स्वास्थ्य संघ (WHO) ले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरुले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो संघले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्नेे क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनुहुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ ।

यो कुरा प्रकाशमा आएपछि विशेष गरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरुले ‘विश्व स्वास्थ्य संघले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरुले विश्व स्वास्थ्य संघलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीहरुले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य संघलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरुले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’

तर जनस्वास्थ्य विज्ञहरुले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानीका बारेमा आम जनतालाई निरन्तर जागरुक गर्न प्रयत्न गरे । चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा. जोन युड्किनले ‘बिषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए ।

तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीहरुले हावामा उडाउने प्रयास गरेका थिए । चिनीको उत्पादन र उपभोग गर्नुअघिका मानिसका दाँत र हाड स्वस्थ रहन्थे भन्ने कुरा डा. जोन युड्किनले प्रस्तुत गरेका छन् ।

महँगो उपहार थियो चिनी

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा शुरु भयो र बिस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पथ्र्यो र धनी मानिसहरुले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजाहरुलाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर उपहार पनि दिइन्थ्यो ।

जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब सामान्य मानिसले पनि यसको प्रयोग गर्न थाले । सन् १८८५ मा चिनीको प्रयोग कोकाकोलामा शुरु भयो । त्यो बेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीहरुले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे ।

सन् १९२८ मा चिनी स्वस्थकर खाना भनेर विज्ञापन नै शुरु भयो । गर्मीमा सर्बतमा चिनी हालेर अनि जाडोमा पेयपदार्थहरुमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । बिस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो ।

चिनी कम्पनीहरुले अनुसन्धानकर्ताहरु र स्वास्थ्यकर्मीलाई पैसा दिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २० औं शताब्दीमा अमेरिकामा मधुमेह, मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले ।

कमजोर चेतना

कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हुन्छ भन्ने ठान्छन् । वास्तवमा यो कुरा ठीक होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताहरुले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो अनुसन्धान अनुसार चिनी प्रयोग गरिएका मुसाहरूमा मुटुरोग, बिर्सने रोग, बाथको रोग बढेको पाइएको थियो ।

चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ । परम्परागत भोजन शैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी प्रयोग गर्छौं । चिया, दूध, केक, कुल्फी, बिस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग हुन्छ ।

चाडबाड र देवीदेवताका प्रसादमा चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीहरूमा दाँतसम्बन्धी समस्या धेरै छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।

‘चिनीको विरुद्ध’

सन् २०१६ मा ज्ञारी ताउबेसले प्रकाशित गरेको अनुसन्धानात्मक पुस्तक ‘चिनीको विरुद्ध’ मा पनि चिनीले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे विस्तृत रुपमा व्याख्या गरिएको छ । सन् २००९ मा सिकागो विश्वविद्यालयमा गरिएको एक अनुसन्धानको रिपोर्टलाई उद्धृत गर्दै ज्ञारीले ‘चिनी प्रयोग बढी गर्नेहरुको मस्तिष्कका कोषहरु चाँडै बूढो हुने र उनीहरुमा बिर्सिने समस्या शुरु हुन सक्ने उल्लेख गरेका छन् ।

उनले पुस्तकमा अमेरिकन जनता अति मोटो हुनुमा चिनीको प्रयोग बढी भएर हो भन्ने उल्लेख गरेका छन् ।छैटौँ शताब्दीमा एक हिन्दू डाक्टर सुश्रुतले पनि ‘मधुुमेह हुँदा गुलियो पिसाब हुन्छ र यो विशेष गरी मोटो मानिसमा हुन्छ’ भनेर लेखेका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका बालरोग विज्ञ बर्ट लुस्टिङले भनेका छन्, ‘चिनी यस्तो विषालु र दूषित पदार्थ हो जसले एउटा वंशबाट अर्को वंशमा समेत खराबी ल्याउँछ । मधुमेह भएकी आमाको शिशुलाई मधुमेह हुन सक्ने सम्भावना धेरै हुन्छ । साथै मोटो मातापिताबाट जन्मेको बच्चामा पनि सानैदेखि मोटोपन हुने सम्भावना धेरै हुन्छ ।’

मधुमेह र मोटोपनले बिर्सने रोग पनि ल्याउन सक्ने सम्भावना भएकोले अहिले अल्जाइमर (बिर्सर्ने रोग ) लाई तेस्रो प्रकारको मधुमेह पनि भनिन्छ । पहिले–पहिले पश्चिमी समाजमा चिनीलाई हानिकारक खाद्य पदार्थ भनेर विचार गरिँदैनथ्यो । चिनीजन्य पदार्थको उत्पादन र उपभोग पनि धेरै भयो ।

जसले गर्दा त्यहाँका मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखिए । यसको कारणका सम्बन्धमा अनुसन्धान गर्दा क्यान्सर, हाड कमजोर हुने, जोर्नीका समस्या, मोटोपन, मुटुरोग, उच्च रक्तचाप, छालाका समस्या, चाँडै वयष्क र बुढ्यौली हुने, कमजोर हुने समस्याहरुमा कुनै न कुनै रूपमा चिनी सम्बन्धित भएको पाइयो ।

चिनीको नकारात्मक पक्षबारे प्रायः कुरा नहुने र परम्परागत रूपमा स्वीकार गरेर प्रयोग गरिँदै आएकाले मात्र चिनी सुरक्षित छ भन्ने धेरैलाई भ्रम पर्छ । चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ ।\

हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ ।

बच्चाको आहारा जस्तो– बोतलका दूध तथा पेयहरूमा मिसाइएको गुलियो पदार्थले उनीहरूको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर मातापितालाई यस्ता खानामा भएको चिनीले बच्चालाई खराब गर्छ भन्ने थाहा नै हुँदैन ।

सेतो चिनीमा कुनै पनि सूक्ष्म पोषक तत्व हुँदैन । चिनी बनाउनका लागि सल्फर डाइअक्साइड, फस्फोरिक एसिड, एक्टिभेटेड कार्बनको प्रयोग गरिन्छ । चिनी खाँदा हामीलाई मस्तिष्कमा सेराटोनिन नामक रसायन निस्कन्छ, जसले एकछिन् आनन्दको अनुभूति दिन्छ । तर एकछिन्पछि त्यो अनुभूति जान्छ अनि थकाइ लाग्ने हुन्छ ।

विश्व स्वास्थ्य संघले सन् २०१४ मा ‘वयष्कलाई दैनिक ५ चम्चाभन्दा बढी र बालबालिकालाई ३ चम्चाभन्दा बढी चिनी खान नदिनू भने पनि अहिले हाम्रो भोजनमा त्यो भन्दा निकै बढी मात्रामा चिनी प्रयोग गरिन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियोजस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै गरी बट्टामा बन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई खाइरहेका हुन्छौँ ।

चकलेट, चुइङ्गम आदि पाकेटबन्द खाना, चिया, कफी, हट लेमन, हर्लिक्स, बोर्नभिटा, भिभा आदि ताता पेयपदार्थहरु, लस्सी, कोक, फेन्टा, पेप्सी, डेउ, मेरिन्डा,, फ्रुटी, एपी, सर्बत, लस्सी आदि चिसा पेयपदार्थहरूमा प्रबस्त मात्रामा चिनी मिसाइएको हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरू, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले बेहिसाब सहज रुपमा प्रयोग गरिरहेका छौँ । एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ ।

अंग्रेजीमा सुगर (क्गनबच) भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपहरु छन् । कतिपय फलफूलको बट्टामा ‘चिनी छैन’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी थाहा नै नपाई उपभोग गरिरहेका हुन्छौँ ।

मकैबाट पनि चिनी बनाइन्छ । विशेष गरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टोरेल (खराब बोसो) को मात्रा बढाउँछ ।खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरूमा लेउजस्तै टाँसिन्छ ।

यसकारण धमनीहरू साँघुुरिने वा कडा हुने समस्या हुुन्छ । यसो हुनेबित्तिकै मुटुका मांसपेशीहरूमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यक मात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरू मर्दछन् र हृदयघात हुन्छ ।

शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसै कारण मुटु तथा रक्तनलीहरुमा अवरोध पुग्छ । अमेरिकामा गरिएको एक अध्ययनमा चिनी बढी खाने र रेसायुक्त खानेकुरा कम खाने महिलाहरुमा मधुमेह बढी देखिएको थियो ।

विशेष गरी हल्का पेय र मैदाबाट बनेका केक, कुकिजजस्ता प्रशोधित खानेकुराहरू खाँदा शरीरमा छिट्टै पच्छ र ग्लुकोजमा परिणत भएर आन्द्राबाट रगतमा सोसिन्छ । त्यो बेला शरीरले रगतमा चिनीको नियन्त्रण गर्न इन्सुिलन पैदा हुन्छ । अनि धेरै इन्सुलिन शरीरमा भएमा रगत तथा मुटुसम्बन्धी रोगहरु उत्पन्न हुन्छन् ।

हामीले गुलियो खान मन लाग्दा फलफूल खाए सम्पूर्ण पोषक तत्वहरू शरीरमा पुग्छ र शरीरको रोगसँग लड्ने शक्ति पनि बढ्छ । साथै गुलियोका लागि चाकु, भेली, गुुड आदिको प्रयोग पनि चिनीभन्दा धेरै स्वस्थकर हुन्छ । यी गुलिया वस्तु पनि धेरै प्रयोग गर्नुचाहिँ ठीक हुन्न ।

चिनीको सट्टा केही मात्रामा मह, बोक्रासहितका गुलिया फलफूल प्रयोग गर्न पनि सकिन्छ, विषजस्तो चिनी नै किन खानुपर्‍यो र ?
यो लेख डा जोन युड्किनको ‘विषालु सेतो चिनी’, ज्ञारी ताउबेसको ‘चिनीको विरुद्ध’ नामक पुस्तकहरु र आफ्नै अुनभवका आधारमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्