भैरहवामा उपप्रमुख महिला कप प्रतियोगिता शुरू



न्युज अफ नेपाल, भैरहवा ।

सिद्धार्थनगर उपप्रमुख तेस्रो महिला कप प्रतियोगिता नगर परिक्रमा गरी शुरू भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित २०७६ सालबाट आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरू भएको हो ।

महिलालाई पुरुषसँग प्रतिस्पर्धा गाह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर अहिले तेस्रो पटक प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन् ।

पहिलो वर्ष भलिबल, तेकवान्दो र वकृत्वकला प्रतियोगिता गत वर्ष दुई समूहमा वर्गीकरण गरी साना भाइबहिनीको सहभागितामा थप दौड, रिले दौड, लङजम्प, सटपुटको विधामा प्रतियोगिता आयोजना गरिएको थियो । यस वर्ष ती खेललाई यथावत् राखी चित्रकला र हाजिरीजवाफ थपिएको उपप्रमुख काफ्लेले बताइन् ।

सिद्धार्थनगर नगरभित्र रहेका ७३ वटै विद्यालय, मदरसा तथा शैक्षिक संस्थालाई सहभागिताका लागि पत्र पठाइएको थियो । विद्यालयका छात्राले खेलमा सहभागिता जनाएको खेलको व्यवस्थापकीय जिम्मा पाएको सामूहिक विद्यालय परिवारका अध्यक्ष मनोज यादवले बताए ।

यो वर्ष तीन तहमा विभाजन गरेर प्रतियोगिता गराइँदैछ, कक्षा ४ सम्मको एक समूह, ५ देखि ८ सम्मको एक समूह र ९–१० को एक समूह छ । खेलतर्फ भलिबल, एथलेटिक्समा दौड, लंगजम्प, सटपुट र प्राज्ञिक तर्फ बकृत्वकला, हाजिरीजवाफ, चित्रकला प्रतियोगिता रहेको अध्यक्ष यादवले बताए ।

प्रतियोगिताको उद्घाटन पूर्व नगर परिक्रमा गरिएको थियो । प्रमुख अतिथि संविधान सभा सदस्य आदित्य नारायण कसौधनले उद्घाटन गर्दै बालबालिकालाई गुणस्तरीय मानसिक र शारीरिक शिक्षा दिँदै सम्पूर्ण विकासको संकल्प बालबालिकालाई बनाउने बताए । उनले खेलकुदमा महिलाको पहुँचलाई सुनिश्चितता गर्न, विद्यालयका छात्रामा सिप कला कौशल प्रदर्शन गर्न यो प्रतियोगिताले भूमिका खेल्ने बताए ।

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्‍याली खेल मैदान स्थल संघीय इकाई प्रहरी कार्यालय परिसरमा पुगेर मार्च पास गरेको थियो । सिद्धार्थनगर नगरपालिकाको आयोजना र सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताका विजेताले सिल्ड सहितको नगद पुरस्कार पाउने छन् ।

गत वर्षको उपाधि मनकामना स्कुल र नालन्दाले पाएका थिए, उनीहरूको प्राप्ताङ्क अंक समान भएकोले ६–६ महिना सिल्ड राख्ने सहमतिमा उपाधि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्