धर्मश्रीका विजेतालाई १० लाख पुरस्कार



काठमाडौँ, (नेस) ।

नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गर्दै आइरहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण आगामी वैशाख २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।

यसपटक प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । यो पुरस्कार राशि गत संस्करणको भन्दा दोब्बर हो । यसअघि भएको १५औं संस्करणको विजेता मिलन सिजापतिले ५ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।

शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो । यस संस्करणदेखि धर्मश्रीसँगै प्रथम पुरुष तथा महिला फिजिक्स खुला स्पर्धा पनि समावेश गरिएको छ । प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ ।

कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा देशभरका चार सय खेलाडीले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दा माथि केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

यो पुरस्कार राशि अघिल्लो संस्करणको भन्दा दोब्बर भएको पनि अध्यक्ष प्रधानले बताउनुभयो । यसैगरी, प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पा“चौंले एक लाख, छैटौंले ९० हजार र तेस्रो हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्सतर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्