बस दुर्घटनामा चारको मृत्यु



सर्लाही, (नेस) ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आइतबार मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटना परी मृत्यु भएकामध्ये सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–२, घर भएकी ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक सुनील यादवको मात्र परिचय खुलेको छ । अन्य मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएका सात जनालाई थप उपचारका लागि वीरगन्ज तथा भरतपुर पठाइएको छ ।

सामान्य घाइते भएका यात्रुहरू लालबन्दी, नवलपुर र हरिवनमा रहेका प्राथमिक उपचार केन्द्रमा उपचार गरी घर फर्किएका छन् । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् । सनाखत भएका मृतकको शव आफन्तले बुझे पनि परिचय खुल्न नसकेको दुई जनाको शव प्रादेशिक अस्पताल मलंगवा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्