सेवाप्रवाहामा सहज हुने विश्वासका साथ सिराहा प्रशासनमा टोकन मेसिन जडान



न्युज अफ नेपाल, सिराहा ।

जिल्ला प्रशासन कार्यालय सिराहामा टोकन प्रणाली मेसिन जडान गरिएको छ । सेवाग्राहीको आत्याधिक चापलाई नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यसहित टोकन मेसिन जडान गरिएको हो । मेसिन जडान पछि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, समुदाय प्रमाणीकरणलगायतको सेवा प्रवाह गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विश्वास व्यक्त गरे ।

उनले अब जनताले पाउने सेवा व्यवस्थित र सहज बनाउन टोकन प्रणालीले अवश्य सहयोग पुर्‍याउने बताए । दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको सिडिओ कवारीले बताए ।

टोकन प्रणालीअनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्यालअगाडि अनावश्यक भिड कम हुने उनले बताए । टोकन प्रणालीमार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको हो । धनगढीमाई नगरपालिकाले आजै एक कार्यक्रमबीच टोकन मेसिन हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्