सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताउनुभएको छ । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित सिंहदरवार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताउनुभयो । मन्त्री झाँक्रीले भन्नुभयो, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तब्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौं ।”

सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उहाँले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गदैै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने बताउनुभयो । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताउनुभयो ।

शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारलाई थप व्यवस्थित बनाउन गुरुयोजना अघि बढाइने बताउनुभयो । सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन यो गुरुयोजना महत्वपूर्ण हुने बताउँदै सिंहदरबार गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले सिंहदरबारको सुरक्षाका लागि गेटमा आधसनिक स्क्यानिक उपकरण राख्न आवश्यक रहेको बताउँदै सिंहदरबारभित्र आइपर्ने आपतकालीन प्रकोपबाट उद्धार गर्ने विषय गुरुयोजनामा राख्नुपर्ने बताउनभयो ।

नेपाली सेनाका उपरथी निर्मल कुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो । सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्स र दमकल समेत सिंहदरबार परिसरभित्रै उपलब्ध हुने व्यवस्था गर्नुपर्ने उनले बताउनुभयो ।

त्यसैगरी नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले सिंहदबारमा सर्वसाधारणको पहुँच र सुरक्षा चुनौतिलाई सन्तुलनमा राख्ने विषय गुरुयोजनामा समेटिनुपर्ने बताउनुभयो । यस्तै नेपाल प्रहरीका एसपी बेद विष्टले सिंहदरबारभित्र ड्रोनबाट हुन सक्ने सुरक्षा चुनौती रोक्न एण्टी ड्रोन प्रणाली समेत समेट्नपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल टेलिकमकी प्रतिभा बैद्यले सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरु व्यवस्थित बनाइने बताउँदै सिंहदरबार व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबै निकायबीच समन्वय हुनुपर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरोकारवाला निकायसँग समन्वय गरेर बिजुलीका तारहरु तत्काल अण्डर ग्राउण्ड गर्न सकिने बताए । उहाँले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन समेत राख्न लागिएको जानकारी दिंदै सिंहदरबारभित्र स्ट्रीट लाइट व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्