उत्कृष्टताको छनक ए मेरो हजुर ४ को ट्रेलर



फिल्मकर्मीका साथै दर्शकको प्रतीक्षा सूचिमा रहेको मानिएको फिल्म ए मेरो हजुर ४ को बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। चार मिनेट लामो ट्रेलरमा प्रेम, विछोड, असमझदारी र त्यागको कथा देखाइएको छ।

ट्रेलरका आधारमा फिल्म उत्कृष्ट बनेको अनुमान गर्न सकिन्छ। अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म अभिनेत्री तथा निर्मात्री झरना थापाले निर्देशन गरेकी छन्। आगामी वैशाख १ गते नेपालभर रिलिज हुने फिल्ममा अनमोल र झरनाका साथमा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।

सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रडक्सनको ब्यानरमा निर्माता सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कथा झरना थापा र स्व. छेतेन गुरुङ, पटकथा र संवाद झरना थापा, स्व. छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्मा, द्वन्द्व हिमाल केसी, कोरियोग्राफी कविराज गहतराज, छायांकन निर्देशन सञ्जय लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ।

प्रतिक्रिया दिनुहोस्