बाली जोगाउन रातभर जाग्राम

गोठबाटै हराउँछन् बस्तुभाउ



सल्यान ।

सल्यानको कालीमाटी गाउँपालिका–७ काप्रचौरका बासिन्दा खेतबारीमा लगाइएको बालीनाली जोगाउन खेतबारीमै मच्याङ (अग्लो छाप्रो) बनाएर रातभर जाग्राम बस्न बाध्य छन्, भने गोठबाटै गाईबस्तु बाखले लैजाने गरेको छ । नजिकै बाँके राष्ट्रिय निकुञ्ज रहेकाले जंगली जनावरबाट बाली र बस्तु जोगाउन समस्या परेको हो ।

कृषक अचेल तरकारी र गहँुबाली जोगाउन बारीमा जाग्राम बस्ने गरेका छन् । कालीमाटी गाउँपालिका काप्रचौरकी भीमसरा बुढाले बारीमै जाग्राम बसेर रात बिताउने गरेकी वर्षौं भइसक्यो । काप्रचौरकै टेकबहादुर विकको पीडा पनि भीमसरको भन्दा फरक छैन । गोठमा बाँधेका बाख्रा पनि बाघले खाइदिने गरेको उहाँ बताउनुहुन्छ । विशेष गरी निकुञ्ज क्षेत्रभित्र बस्ती भएकाले उनीहरू मात्र होइनन्, यहाँका सयौं किसान यसरी नै रातभर खेतबारीमा जाग्राम बस्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा बढ्दै गरेका जंगली जनावरका कारण बालीमा क्षति पुर्याउन थालेपछि सल्यान काप्रेचौरवासी बारीमै रात बिताउँदै आएका हुन् । सरकारले २०६७ सालमा काप्रेचौरसम्मलाई बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जंगली जनावरले हैरान बनाएको छ । बँदेल, बाँदर र दुम्सीले मकै, गहुँबाली, फलफूल, तरकारीमा क्षति पुर्याउँछन् भने बाघले गोठभित्रै आएर पशुबस्तु खाइदिने गरेको छ ।

वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छोडेका छन्  । ‘बाली लगाएर के गर्ने ? पाक्ने बेलामा वन्यजन्तुको हुल आएर सबै बाली नष्ट गरिदिन्छ’, स्थानीय निर्मला बुढाले भन्नुहुनछ– ‘बाली लगाए पनि जनावरले सखाप पारिदिन्छ, अब त उठिबास नै लाग्ला जस्तो भइसक्यो ।’ वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको गुनासो उहाँको छ ।

राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर, र्याङ, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुलेलगायतका बासिन्दाले जंगली जनावरबाट क्षति बेहोर्नुपरेको मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुन बताउनुहुन्छ । निकुञ्जले वन–जंगल र वन्यजन्तुको संरक्षण गरे पनि अर्को निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीयले लगाएको बाली जोगाउन नसकेको उहाँको भनाइ छ । बाघले समेत घरभित्रै पसेर गाईबाख्रा लैजाने, मान्छेलाई समेत बारम्बार आक्रमणको प्रयास गर्ने गरेको अध्यक्ष पुन बताउनुहुन्छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुलाई हानि पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएकाले वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको छ । यस क्षेत्रमा ५ सय बढी घर–परिवार बसोबास गर्छन् । तर, जंगली जनावरका कारण ती सबै प्रभावित भएका छन् । समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले मागसमेत गरेका छन् ।

जंगली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपुर्ती पाउन नसकेको किसान केशर बिसीको दुःखेसो छ । रात पर्ने बित्तिकै बाघ आहारा खोज्दै बस्तीमा छिर्ने गरेको तर सम्बन्धित निकायले जंगली जनावरको सुरक्षा बढी गरेको, मान्छेको सुरक्षामा कुनै चासो नदिएको गुनासो उहाँको छ ।

स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेका कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नैनसिंह रानाले बताउनुभयो । बालीनालीमा वन्यजन्तुले ठूलो क्षति पुर्याउने गरेका कारण सानो बजेटले तारजाली लगाउन नपुग्ने उहाँको कथन छ । वडाबाट निकुञ्जलाई बालीनालीमा गरेको क्षतिको विवरण पठाए पनि कम मात्रामा राहत दिने गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्