रारामा बढ्यो पर्यटकीय गतिविधि



मुगु ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल घुम्ने उपयुक्त मौसम शुरु भएसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ । फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढेको हो ।

हिमपातको अन्त्यसँगै सडक र हवाईमार्ग नियमित सञ्चालनमा आएकाले रारा पुग्न सहज भउको छ । मौसम अनुकूल भएसँगै आन्तरिक पर्यटक रारा आउन थालेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताउनुभयो । उहाँका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । रारामा पर्यटक बढ्दा चहलपहल पनि बढ्दै गएको छ । ‘रारा आएका पर्यटकले हिउँमा पर्याप्त आनन्द लिन सक्छन्’, दाहाल भननुहुन्छ– ‘पर्यटकको स्वागतका लागि घोडा व्यवसायी, डुंगा चालक र होटल व्यवसायी तयारी अवस्थामा छन् ।’

पर्यटकको स्वागतको पर्खाइमा होमस्टेका सञ्चालक पनि रहेका छन् । ‘रारा घुम्ने मौसम शुरु भएपछि होटलमा खानपिनका लागि खाद्यान्नको जोहो र कोठा व्यवस्थापन गरिसकेका छौं’, रारास्थित माझघट्ट होमस्टेका सञ्चालक डबल रोकाया भन्नुहुन्छ– ‘पर्यटकलाई कोसेली दिनका लागि विभिन्न स्थानीय उत्पादन पनि होमस्टेमा ल्याइएको छ ।’ रारामा काफल पाक्ने र वन जंगलमा गुच्ची च्याउ उम्रिने भएकाले पनि पर्यटकले फरक आनन्द लिन सक्ने उहाँको भनाइ छ । रारामा असला माछा पनि प्रशस्त पाइन्छ ।

मुर्मा, झयारी, पिना, कोटिल्ला, तलितुमलगायत बस्तीका स्थानीयले पर्यटकलाई रारा आसपासका ठाउँमा घुमाउने गरी झन्डै १ सय ५० वटा घोडा पालेका छन् । कोरोना महामारीका कारण शिथिल बनेको राराको पर्यटन क्षेत्र फागुन दोस्रो सातादेखि उकालो लागेको पर्यटन व्यवसायीको भनाइ छ ।

जेठसम्म हवाई र सडकमार्गबाट जतिसक्दो बढी पर्यटक भित्र्याइने भिजिट कर्णाली टुर एन्ड ट्राभल्सका प्रबन्धक राजु कार्की बताउनुहुन्छ । ‘तेस्रो लहरको कोरोना पनि शिथिल बनेको छ’, उहाँ भन्नुहुन्छ– ‘हवाईमार्ग भन्दा सडकमार्गबाट पर्यटकलाई दैलेख–कालीकोट–जुम्ला हुँदै यहाँ ल्याउने हाम्रो योजना छ ।’ कार्कीका अनुसार पर्यटकको संख्या बढ्न थालेपछि नेपालगन्ज र सुर्खेतबाट उडान हुने निजी हवाई कम्पनीले उडान बढाउन थालेका छन् । नेपालगन्जबाट पोखरासम्मको हवाई उडान शुरु भएपछि पोखरा आएका पर्यटकलाई राराताल ल्याउन सजिलो भएको छ । सरकारी सेवा–सुविधाको बढ्दो विस्तारले पनि राराका होटल र होमस्टे भरिभराउँ भई आम्दानीको स्तर बढ्दै गएको डाँफे होटलका सञ्चालक जगत् मगर बताउनुहुन्छ ।

यति बेला रारामा सेताम्य हिमालको मनोरम दृश्यका साथै लालीगुराँस, भुइँफूल हेर्न पाइन्छ । सडक र हवाई यातायातको पहँच पनि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्