तीन महिनामै बन्यो झोलुंगे पुल



बाजुरा, (नेस) ।

बाजुराको गौमूल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा तीन महिनामै झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । कादुरी एग्रिकल्चर एन्ड एसोसियसन ब्रिटिस गोर्खाज नेपालले झोलुंगे पुलको निर्माण सम्पन्न गरेको हो ।

बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पुल निर्माण भएसँगै दुुई जिल्लाको आवागमनमा सहजता आउनुको साथै बन्द व्यापार शुचारु भएको स्थानीयले बताएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाइ ८२ मिटर छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएको हो ।

यसअघि काठेपुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो । पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् । ९० दिनभित्र पुल निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातका कारण ९९ दिनमा निर्माणकार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताउनुभयो । पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गत मंगलबार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्