एक सातापछि उठ्यो राजधानीको फोहोर



काठमाडौं ।

एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो । मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । स्थानीयसँगको सहमतिलगत्तै मंगलबार दिउँसो साढे २ बजे फोहोर बोकेका सवारीसाधन सिसडोल पुगेका थिए । साथै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध खडा गरे तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन पनि गरिएको थियो ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले विभिन्न २० सूत्रीय माग राखी आन्दोलन गरेका थिए । मन्त्रिपरिषद्को बैठकले स्थानीयको माग सम्बोधन गरेपछि फोहोर विसर्जनको अवरोध हटेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्थानीयको माग सम्बोधन गर्न समिति गठन गरेपछि त्यसको उच्च सम्मान गर्न आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएका जानकारी दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भन्नुभयो– ‘मुख्य सचिव शंकरदास वैरागीलगायत सरकारका उच्च तहका अधिकारीले माग सम्बोधन गर्ने वचन दिएलगत्तै फोहोर व्यवस्थापन गर्न दिन सहमति जनाएका हौं ।’

माग सम्बोधनलगत्तै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको र्यापिड एक्सन टाक्स फोर्स गठन भएको छ । पाँच सदस्यीय टाक्स फोर्समा ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्याल, धुनीबेंसीका कार्यकारी अधिकृत हरिदत्त कँडेल, ककनी गाउँपालिकाका कार्यकारी अधिकृत महेन्द्रबहादुर नेपाली र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीलगायत छन् ।

टास्क फोर्सले स्थानीयको माग सम्बोधन गर्ने, बन्चरेडाँडा लयान्डफिल साइटको निर्माणको अवस्थाबारे जानकारी लिने, स्थानीयसँग वार्ता गरी समस्या समाधान गर्न पहल गर्नेलगायत जिम्मेवारी लिएको छ । समितिले माग पूरा गर्ने विषयमा छलफल गर्न मंगलबार बैठक बसेको थियो । मंगलबार नै संघर्ष समितिको टोलीले बन्चरे ल्यान्डफिल साइट परिसरमा कोणसभा आयोजना गरी मन्त्रिपरिषद्को बैठकले स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै माग पूरा गराउन फोहोर व्यवस्थापन गर्न दिएको बताएको थियो । कोणसभामा स्थानीयले सरकारले माग पूरा नगरे फेरि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सिसडोल बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रमुख रविन प्यासीले मंगलबार कामपाका १० र ललितपुर महानगरका ६ र केही निजी क्षेत्रको फोहोर व्यवसायीको सवारीसाधन सिसडोल पुगेका जानकारी दिनुभयो । प्यासीले नेपाल समाचारपत्रसँगको कुराकानीमा स्थानीयको माग सम्बोधन भएकाले अब समस्या नहुने बताउनुभयो ।

कामपा वातावरण व्यवस्थापन विभागका सिसडोल ल्यान्डफिल साइट प्रमुख प्यासी, डीएसपी पूर्णचन्द्र भट्टसहितको टोली मंगलबार दिउँसो ल्यान्डफिल साइट पुगेका थिए । स्थानीय र महानगरको टोलीबीच केहीबेर कुराकानी भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको थियो ।

स्थानीयले आफ्नो स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नेलगायतका माग राखी फागुन २५ बाट फोहोर व्यवस्थापन रोकेका थिए । सरकारले चैत अन्तिम वा वैशाख पहिलो साताभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले गरेको मागअनुसार करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्न करिब ३ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्छ । स्थानीयले १३ गाउँको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्