दक्षिण पूर्वी एसियाली महिला सम्मेलन शुरू



काठमाडौं, (नेस) ।

उपराष्ट्रपति नन्दबहादुर पुनले २१औं शताब्दीमा पनि महिला र बालबालिकाले शोषण र हिंसा भोगिरहनुपर्ने अवस्था दुःखद् रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा मंगलबारबाट काठमाडौंमा शुरू भएको दक्षिण एसियाली महिला सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको भन्दै दक्षिण एसियाबाट पहलकदमी शुरू गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध विभिन्न कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायले आआफ्नो भूमिकालाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पछिल्लो समयमा यौनजन्य हिंसा बढेको बताउँदै राज्यले बनाएको नीति नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रमका भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा. वन्दना शिवाले महिलाहरू आर्थिक रूपमा सशक्त हुन सके मात्रै हिंसा सहेर बस्न नपर्ने धारणा राख्नुभयो ।
दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले दक्षिण एसियाली मुलुकहरूमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनहरू समयअनुसार परिमार्जन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्