गल्याङमा मेयरको चर्चा, को बन्ला अबको प्रमुख



स्याङ्जा ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला गाउँदेखि केन्द्रसम्म माहोल तातेको छ । देशभर एकैपटक हुन लागेको ७ सय ५३ स्थानीय तहको चुनावले नेता–कार्यकर्तादेखि आम सर्वसाधारणमा एक प्रकारको जिज्ञाशा पैदा गरेको छ ।

विगतमा नेतृत्व लिन सफल नभएका नेता–कार्यकर्ता यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । नेतृत्व पाइसकेका राजनीतिक दलले आफ्नो निरन्तरताका लागि पाँच वर्षमा गरेका काम–कारबाहीको समीक्षा गर्दै आगामी दिन पुनः नेतृत्वमा पुग्ने रणनीति बुनेको देखिन्छ । कतिपय स्थानीयतहमा राजनीति दलको हाबीले आजित बनेका जनता भने अबाउँदो नेतृत्वले पनि जनताको पक्षमा काम गर्नेमा शंका गर्न थालेका छन् । जनप्रतिनिधिको अख्तियरको दुरुपयोगबाट आजित बनेका जनता ती जनप्रतिनिधिलाई बिदाइ गर्न पाउँदा खुसी देखिन्छन् भने साँच्चिकै जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई नेतृत्वबाट हटाएर कस्तो नेतृत्व आउने हो भन्नेमा त्रसित पनि छन् ।

हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै बहस हुने गरेको स्थानीय तहको निर्वाचनको बहस गल्याङ नगरपालिकाभित्रका चोक गल्लीमा पनि व्यापक भएको पाइन्छ । व्यवसायीले सही नेतृत्व छान्न सके व्यापार गर्न सजिलो हुनेतिर बहस गरेको देखिन्छ भने किसानलाई किसानमैत्री नेतृत्व आए साँच्चिकै किसानका समस्या बुझ्ने थिए भन्ने लागेको पाइन्छ । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसँग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालेले जित हासिल गरेको थियो । प्रमुखमा भूपराज अधिकारीले ८ हजार ३ सय ६८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका लालगोपाल अर्यालले ६ हजार ६२, नेकपा माओवादी केन्द्र का लोकेन्द्र तराङले १ हजार ३ सय ८१, राष्ट्रिय जनमोर्चा पार्टीका विष्णुप्रसाद गैह्रेले ३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लेमकला भट्टराईले ३६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसै, उपप्रमुखमा नेकपा एमालेकी देवीसरा थापाले ८ हजार ४ सय १९ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसकी खगिसरा भण्डारीले ५ हजार ९ सय ७६, नेकपा माओवादी केन्द्रकी रीता खनालले १ हजार २ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज न्यौपानेले १ सय १५ र राष्ट्रिय जनमोर्चा पार्टीकी तुलसादेवी पराजुली ७५ मत ल्याउनुभएको थियो ।

११ वडा रहेको गल्याङ नगरपालिकाको वडा नं १, २, ४, ६, ७ र ११ गरी ६ वटा वडामा नेकपा एमालेले, ३, ८, ९ र १० गरी चारवटा वडामा नेपाली कांग्रेसले र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र ले विजय हासिल गरेको थियो ।

गल्याङ नगरपालिका–१ मा नेकपा एमालेका गणेशप्रसाद बस्यालले ८ सय ३० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिकराम बस्यालले ६ सय ४८ र नेकपा माओवादी केन्द्रका उमाखर पाण्डेले ३५ मत ल्याउनुभएको थियो । त्यसै गरी, वडा नं २ मा नेकपा एमालेका इवप्रसाद कर्माचार्यले ८ सय ७४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनबहादुर थापाले ६ सय ७४, नेकपा माओवादी केन्द्रका तीर्थबहादुर रानाले २ सय २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवीप्रसाद कर्माचार्यले ४ मत ल्याउनुभएको थियो ।
वडा नं ३ मा नेपाली कांग्रेसका महेश भट्टराईले ६ सय ६२ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका भेमलाल अर्यालले ५ सय ८३, नेकपा माओवादी केन्द्रका अर्जुनप्रसाद श्रेष्ठले ४२, राष्ट्रिय जनमोर्चा पार्टीका तिलकुमारी भण्डारीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनिकला बस्यालले १८ मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं ४ नेकपा एमालेका नेत्रप्रसाद पाण्डेले ६ सय ४६ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ढाकाराम न्यौपानेले ६ सय ४० र नेकपा माओवादी केन्द्रका भोजराज पाण्डेले १ सय मत ल्याउनुभएको थियो । वडा नं ५ मा नेकपा माओवादी केन्द्र का विष्णुबहादुर बसेल क्षेत्रीले ४ सय ३५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम भट्टराईले ४ सय ९, नेपाली कांग्रेसका भुमबहादुर रखालीले २ सय ४६ मत ल्याउनुभएको थियो ।

त्यसै, वडा नं ६ मा नेकपा एमालेका टीकाराम भुसालले ७ सय ९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीता चापागाईंले ४ सय ३९, नेकपा माओवादी केन्द्रका एकनारायण तिवारीले ७१ र राष्ट्रिय जनमोर्चा पार्टीका अग्निप्रसाद चापागाईंले १३ मत ल्याउनुभएको थियो ।

वडा नं ७ मा नेकपा एमालेका रामबहादुर गुरुङले १ हजार ७ सय ७० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपीकृष्ण पाण्डेले ३ सय ८४, नेकपा माओवादी केन्द्रका टीकाराम भण्डारीले ३४ र गौमाया रानाले ६ मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं ८ मा नेपाली कांग्रेसका भेकबहादुर श्रेष्ठले ६ सय ४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर रानाले ४ सय १८ र नेकपा माओवादी केन्द्र का केदारनाथ अधिकारीले २९ मत ल्याउनुभएको थियो । वडा नं ९ मा नेपाली कांग्रेसका हरिलाल खनालले ७ सय ३७ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हीरामणि भण्डारीले ५ सय २८ र नेकपा माओवादी केन्द्रका निमप्रसाद खनालले १ सय ७९ मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं १० मा नेपाली कांग्रेस धुव्रप्रसाद शर्माले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर गाहाले २ सय ७२ मत ल्याउनुभएको थियो । वडा नं ११ मा नेकपा एमालेका शंकरदेव अधिकारीले १ हजार १ सय १ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर सोमै मगरले ८ सय ३६, नेकपा माओवादी केन्द्रका बाबुराम अधिकारीले १ सय १२ र स्वतन्त्रका उदयराज अधिकारीले २८ मत ल्याउनुभएको थियो ।

गल्याङमा यसअघिको चुनावमा नेपाली कांग्रेसलाई करिब २२ सय मतले पछि पार्दै नेकपा एमालेले नेतृत्व हत्याएको थियो । यसअघिको चुनाव ११ वडामध्ये मात्रै ४ वडामा सीमित हुन पुगेको कांग्रेसलाई जसरी पनि नेतृत्वमा पुग्नुछ भने एमालेलाई पुनः विजयी हुनुपर्ने बाध्यता देखिन्छ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व हत्याउने रणनीतिमा लागेको भए पनि अन्य राजनीतिका नेतृत्व पनि पर्ख र हेरको अवस्थामा रहेको पाइन्छ । सम्मानजनक ढंगले ठूला भनिएका राजनीतिक दलहरु बार्गेनिङ गरेर अन्य पदमा सीमित हुने अथवा सानै दल भए पनि मेयरको बाक्सा थापेर आफ्नो उपस्थिति जनाउने भन्ने रणनीतिमा लागेको देखिन्छ ।

मेयरका लागि चर्चामा रहेका व्यक्तिहरू

नेपाली कांग्रस
श्यामप्रसाद बस्याल
साविक जगत्रदेवी गाविसको नेपाली कांग्रेसको सभापति हुँदै साविक निर्वाचन क्षेत्र नम्बर ३ कोषाध्यक्ष हुनुहुन्छ । महासमिति सदस्यदेखि कांग्रेसका धेरै केन्द्रीय विभागमा समेत रहेर अनुभव बटुल्नुभएका श्यामप्रसाद बस्याल गल्याङ नगरपालिकाको मेयरका लागि निकै चर्चामा देखिनुहुन्छ । हालै सम्पन्न नेपाली कांग्रेस महाधिवेशनबाट गल्याङ नगर सभापतिमा भारी मतका साथ विजयी हुनुभएको बस्याल यो क्षेत्रको सफल व्यवसायीका रूपमा चिनिनुहुन्छ । सानैदेखि गल्याङ केन्द्रित राजनीतिसँगै व्यवसाय सञ्चालन गरेर स्थानीयको सुख–दुःखको सारथि बन्नुभएका उहाँले स्याङ्जा जिल्लावासीलाई आर्थिक रूपमा समृद्धि गराउन गरिमा विकास बैंक स्थापना गर्नुभएको छ । गल्याङ नगरभित्रका प्रायः सबै सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुल्नुभएका बस्याल हाल राजनीतिसँगै गरिमा विकासको बैंकको अध्यक्ष पनि हुनुहुन्छ । पैसा कमाउनासाथ गल्याङबाट पलाएन हुने गरेको इतिहासलाई तोड्दै त्यही क्षेत्र बनाउन लागिपर्नुभएका बस्यालको मेयरमा सम्भावना बलियो रहेको देखिन्छ ।

महेश भट्टराई
व्यवसायसँगै राजनीतिमा लाग्नुभएका महेश भट्टराई गल्याङ नगरपालिका–३ का निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको कार्यालय रहेको वडामा गत निर्वाचनमा नेतृत्व हत्याउन सफल भट्टराई गल्याङ नगरपालिकाको मेयरका बलिया दाबेदार मानिनुहुन्छ । सफल व्यवसायीसँगै सफल राजनीतिकर्मीको पहिचान बनाउनुभएका भट्टराई नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुई ‘ख’ को क्षेत्रीय सभापतिमा भारी मतका साथ विजय हुनुभएको थियो ।

लालगोपाल अर्याल
यो क्षेत्रका पुराना समाजसेवीको पहिचान बनाउनुभएका लालगोपाल अर्याल यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गल्याङ नगरपालिकाको मेयरका दाबेदार हुनुहुन्थ्यो । नेकपा एमालेबाट मेयरका प्रतिस्पर्धी भूपराज अधिकारीसँग करिब २२ सय मतको अन्तरालबाट नेतृत्व लिन वञ्चित हुनुभएका अर्याल हालको निर्वाचनमा पनि मेयरको दाबेदारका रूपमा देखिनुहुन्छ ।

हरि खनाल
गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले ४ वडा जितेकामध्ये एक वडाध्यक्ष हरि खनाल हुनुहुन्छ । ३८ हजार ९ सय १० वडामा नेपाली कांग्रेसका वडाध्यक्षले नेतृत्व लिन सफल भएको पाइन्छ । वडा नम्बर ९ को अध्यक्षमा निर्वाचित खनाल मेयरको प्रतिस्पर्धीका रूपमा देखा पर्नुभएको छ । नेपाली कांग्रेस नगर सभापतिको चुनावमा हालका अध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएकै कारण अन्य वडाध्यक्षको तुलनामा उहाँको सम्भावना बढेको देखिन्छ ।

गुरुप्रसाद भट्टराई
विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाउनुभएका गुरुप्रसाद भट्टराई प्रस्ट वक्ताका रूपमा चिनिनुहुन्छ । युवा नेताको पहिचान बनाउनुभएका भट्टराई यस क्षेत्रका सम्भावना बोकेका नेताका रूपमा चिनिनुहुन्छ । पूरै समय सामाजिक सेवामा खर्चिने भट्टराई हाल नेपाली कांग्रेस स्याङ्जा जिल्ला सचिवमा भारी मतका साथ विजय हुनुभएको थियो । राजनीतिमा बलियो छाप बनाउनुभएका भट्टराई मेयरका बलिया दाबेदारका रूपमा चिनिनुहुन्छ ।

नेकपा एमाले
पारस गैरे
नेकपा एमालेबाट गल्याङ नगरपालिकामा बलिया दाबेदारका रूपमा चिनिनुहुन्छ पारस गैरे । नेकपा एमालेको जिल्ला अध्यक्षमा भारी मतका साथ विजयी हुनुभएका गैरे युवा नेताका रूपमा चिनिनुहुन्छ । नेकपा माओवादी हुँदै एमालेमा प्रवेश गर्नुभएका गैरेलाई मेयरमा दुवै पार्टीको समर्थन हुने देखिन्छ । एमाले र माओवादी दुवैको समर्थन जुटाउन सक्ने गल्याङ नगरमा अर्को उम्मेदवार नदेखिएकाले गैरे बलिया दाबेदार मानिनुहुन्छ । गत निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ ‘ख’ को प्रदेश चुनावमा झीनो मतका कारण विजय प्राप्त गर्न नसक्नुभएका गैरे युवाका ढुकढुकीका रूपमा चिनिनुहुन्छ ।

भूपराज अधिकारी
गल्याङ नगरपालिकाको पहिलो मेयर बन्न सफल भएकै कारण पनि नेकपा एमालेभित्र अबको नगर प्रमुख पुनः भूपराज अधिकारी हुनुपर्ने चर्चा चलेको देखिन्छ । शैक्षिक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएका अधिकारीले चर्चा र आलोचना दुवै बटुल्नुभएको छ । नगरपालिकामा आउने अनुदान प्रायः साना किसानमार्फत गाउँ–गाउँ पु¥याएर एकथरीको मनमा बस्न सफल हुनुभएको छ । साना किसानमा आबद्ध नहुनेहरुको नजरमा आफ्नो संस्थामा आबद्ध मात्रै नगरपालिका जनता हुन् भन्ने भाव उहाँमा रहेको भन्ने आलोचना पनि बटुल्नुभएको छ । हालको नगरप्रमुख भएकै कारण नेकपा एमालेबाट नगर प्रमुखको चर्चामा रहेको पाइन्छ ।

देवी थापा
साहसी र प्रस्ट वक्ताको पहिचान बनाउनुभएकी देवी थापाको मेयर हुने चर्चा नेकपा एमाले मात्रै नभएर आम जनमानसमा भएको पाइन्छ । उपमेयर नहुँदासम्म समाजले खासै चिन्न नसकेको थापालाई उपमेयर हुँदा गरेको कामकै कारण लोकप्रियता बढेको हो । जति गर्न सकिन्छ त्यतिमात्र बोल्ने अर्थात् नेताको बोलीभन्दा पनि जनताको बोली बोल्ने भन्ने पहिचान बनाउनुभएकी थापा गल्याङ नगरपालिकाको मेयरको चर्चामा हुनुहुन्छ । अब्बल महिलाको पहिचान बनाउनुभएकी थापालाई गल्याङ नगरपालिकाको पहिलो महिला नगर प्रमुखको भनेर पनि चर्चा गर्ने गरेको पाइन्छ ।

छविलाल भुसाल
राजनीतिमा योगदान मात्रै गरेका अहिलेसम्म अवसर प्राप्त गर्न नसकेका नेताका रूपमा चिनिने छविलाल भुसाल यसपालि मेयरका लागि बलिया दाबेदार मानिनुहुन्छ । पार्टीको चुनावमा गल्याङ नगरको अध्यक्ष पदका बलिया दाबेदर बन्नेका उहाँलाई मेयरको टिकट दिलाउने गरी अध्यक्षबाट पछि हटाइएको चर्चा छ । भुसाल पूर्वमन्त्री पद्मा अर्यालको निकै विश्वासिला पात्र हुन् ।

दानबहादुर थापा
नेकपा एमालेको गल्याङ नगर अध्यक्ष भएकै कारण दानबहादुर थापाले मेयरको टिकट पाउने सम्भावना बढेको छ । नेकपा एमालेको भर्खरै सम्पन्न अधिवेशनबाट उहाँ गल्याङ नगरपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्र
लोकेन्द्र थापा
नेकपा माओवादीको मत निर्णायक मानिएको गल्याङ नगरपालिकामा माओवादीको समर्थन जता हुन्छ उसैले नगर प्रमुख जित्ने सम्भावना बढी देखिन्छ । यदि कुनै राजनीतिक दलसँग सहमति भएर माओवादीले मेयर पाउने सम्भावना रहे उक्त पार्टीले नगर अध्यक्ष लोकेन्द्र थापा अगाडि बढाउने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्