एसओएसको अनियमिततामाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय छानबिन



न्युज अफ नेपाल, काठमाडौं ।

अभिभावकविहीन र गरिब बालबालिकाका लागि अभिभावकत्व प्रदान गर्दै नेपाललगायत विश्वका १ सय ३७ देशमा सेवा पुर्‍याउँदै आएको एसओएसको केन्द्रीय व्यवस्थापनले एसओएस नेपाललाई गडबडी भएको संस्थाको सूचीमा राखेर छानबिन सुरु गरेको छ । एसओएस अन्तर्राष्ट्रिय कार्यालयले आन्तरिक मूल्यांकन गर्दा लामो समयदेखि दाताहरुलाई विभिन्न खाले बनावटी रिपोर्टिङ गरी झुटा विबरण पेश गर्दै आएको देखिएकाले यसलाई छानबिनको दायरामा राखेको हो ।

संस्थाको भ्रष्ट व्यवस्थापनविरुद्ध निरन्तर आवाज उठाउने, केन्द्रीय कार्यालयमा उजुरी दिने र केही सीप नलागेपछि दाता गुहार्ने एसओएसप्रति समर्पित समूहको निरन्तरको प्रयासपछि अहिले संस्थालाई पुनर्जीवन दिने प्रयासमा अन्तर्राष्ट्रिय कार्यालयले विज्ञ टोली खटाएको छ । तर एसओएस नेपालमा पुरानै व्यवस्थापन हाबी भएका कारण संस्थाप्रति समर्पित गोप्य रुपमा उजुरी दिने समूहलाई ‘दातासम्म किन कुरो पुर्‍याएको’ भन्दै लज्जित बनाउने प्रयास भइरहेको छ ।

एसओएस अन्तर्राष्ट्रिय कार्यालयका सिइओ इन्ग्रिड जोनासनका विषेश सल्लाहकार जिम लगायतको विज्ञ समूह अहिले नेपालमा छ । यस समूहले विभिन्न सरोकारवाला निकायहरुसँग संस्था कसरी जोगाउन सकिन्छ भनेर छलफल गरिरहेको बुझिएको छ ।

एसओएसमा भएको भ्रष्टाचार, महिला तथा बालबालिका हिंसा, मानवअधिकार हननजस्ता मुद्दाहरु विभिन्न मिडियामा प्रकाशित–प्रसारित भइसकेका छन् । प्रकाशित सम्पूर्ण समाचार हाल दातासम्म पुगेकोले एसओएस नेपाल नयाँ व्यावसायिक संरचनाको तरल अवस्थामा छ ।

एसओएस नेपाल केन्द्रीय कार्यालयमा कार्यरत एक विभागीय प्रमुखका अनुसार दाताहरुसम्म संस्थाका कमजोरी कसले पुर्‍यायो भनेर छानबिन गर्न नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पनि दातासम्म कुरा पुर्‍याएर एसओएस नेपालको सुधार गर्न चाहने समूहलाई प्रोत्साहित गर्नुको साटो उनीहरुका मोबाइल ट्रेसिङ गरेर त्रसित बनाएको छ । संस्थाको गोप्य सूचना दातासम्म पुर्‍याउने समूहको खोजी गर्ने नाममा सिआईबीले तल्लो तह सम्मका कर्मचारीहरुको मोवाइल, कम्युटर तथा व्यक्तिगत विवरणहरु नियन्त्रणमा लिई उनीहरुको गोपनीयताको हक एवं मानवअधिकार हनन गरेको सुधारवादीहरुको गुनासो छ ।

अर्कातिर, अन्तर्राष्ट्रिय अफिसले एसओएस नेपालका कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्मा तथा उनको समूहको कार्यविफलताले संस्थाको प्रतिष्ठा नै धराशयी बनाएको ठहर गर्दै शर्माका केही मतियारलाई निलम्वनमा राखेर छानबिन अघिबढाएको छ । हाल अन्तर्राष्ट्रिय अफिसले भ्रष्टाचार, यौन हिंसा, मानवअधिकार हनन्, संस्थाको स्रोत–साधनको दुरुपयोगजस्ता सम्पूर्ण आरोपहरुको सघन छानबिन गरिरहेको छ ।

एसओएस नेपाल करिब सात हजार बालबालिकाको पालनपोषण तथा भविष्य निर्माणको जिम्मा लिई नेपालमा विगत ४० वर्षदेखि सञ्चालनमा छ । नेपालभरि बालग्राम, स्कुल, युवाग्राम, तालिम केन्द्र तथा परिवार सुदृढीकरण कार्यक्रमजस्ता धेरै परियोजनाहरु दाताहरुको सहयोगमा सञ्चालन गर्दैआएको छ । २०१५ को महाभूकम्पताका घर, विद्यालयलगायत विभिन्न संरचना पुनर्निर्माणका लागि दाताहरुबाट आएको अरबौं रुपियाँ ठेकेदार तथा इन्जिनियरसंँग मिली भ्रष्टाचार गरेको आरोप कार्यकारी निर्देशक शर्मामाथि लागेको छ । खासगरी शर्माले आफन्तहरुको एक समूह बनाई काम गर्नेगरेको, नातावाद र कृपावाद बढाएको, यौनदुराचारजस्ता गम्भीर आरोप लागेका प्रशासकलाई पनि काखी च्यापेको भन्नेजस्ता आरोप खेप्दैआएका छन् ।

एसओएस कार्यालयका कामु उपप्रमुख डा. गंगा गुरुङ केही समयअघि देखि नै संस्थामा छानबिन सुरु भएको स्वीकार गर्नुहुन्छ, तर अहिले अन्तर्राष्ट्रिय कार्यालयले छानबिनका लागि विशेष टोली खटाएको होइन भन्नुहुन्छ । उहाँका अनुसार केही जिम्मेवारीका पदमा रहेका व्यक्तिहरुलाई छानबिनको रिपोर्टअनुसार निलम्वनमा राखिएको छ, थप अनुसन्धान पनि जारी छ ।

भ्रष्टाचार तथा गलत कार्यविरुद्ध छानबिन गरिपाऊँ भनेर एसओएस अन्तर्राष्ट्रिय कार्यालयलगायत समाज कल्याण परिषद्, अख्त्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा थिमी नगरपालिकामा समेत उजुरी परेको थियो । तर एसओएसको सञ्चालक समिति (बोर्ड) र अन्य प्रमुख पदहरुमा आफ्नो मान्छे राखेको कारण शर्माविरुद्ध स्वच्छ छानबिन हुन नसकेको उजुरीकर्ताहरुको दाबी छ ।

संस्थाको मेरुदण्ड अनाथ बालबालिकाको गुणस्तरीय हेरचाह, शिक्षादीक्षा तथा पालनपोषण रहेको भएता पनि बालबालिकाकै नाममा आएको आर्थिक सहयोगमाथि चरम दुरुपयोग भइरहेको प्रमाणसहित एसओएस नेपालका सुधारवादीहरुले अभियान नै चलाएका छन् ।

कर्मचारीको मोबाइल खोसियो
यसै क्रममा आर्थिक अनियमितता एवम् मानवअधिकार, बालअधिकार हननका समाचार विभिन्न माध्यमबाट अन्तर्राष्ट्रिय कार्यालय र दाताहरुसमक्ष पुगेपछि आफ्ना हर्कतहरुलाई ढाकछोप र विषयान्तर गर्न संस्थाका कार्यकारी निर्देशक शर्माले नेपाल प्रहरीको सिआईबीको शक्ति दुरुपयोग गरेको सुधारवादीहरुको आरोप छ ।

एक महिनाअघि एसओएस केन्द्रीय कार्यालयको गाडीमा नेपाल प्रहरीको एक टोली काभ्रे एसओएसमा पुग्यो, गार्डेनरको रुपमा कार्यरत एक कर्मचारीका तीन थान मोबाइल खोस्यो । उनका नाबालक छोरा र श्रीमतीसमेतले ती मोबाइल प्रयोग गरिरहेका थिए । मदन खत्री नामका ती कर्मचारी महिनौं बितिसक्दा पनि नागरिक अधिकारबाट वञ्चित छन् ।

(खत्रीको भनाइ भिडियोमा हेनुहोस्)

‘गल्ती ठूलाबडाहरुले गर्ने तर खाँदै नखाएको बिष हामीलाई लाग्ने’ खत्रीले नेपाल समाचारपत्रलाई भनेका छन् । शर्माको कार्यकाल यही मार्च महिनामा सकिंदैछ । आफ्ना गलत काम ढाकछोप गर्न शर्माले संस्थामा आफूविरुद्ध फरक मत राख्नेहरुलाई कारबाहीको डण्डा चलाएको र सिआईबी लगाएर फोन खोख्ने काम त्यसकै एक अभ्यास भएको सुधारवादीहरुको धारणा छ ।

केही समयअघि केन्द्रीय व्यवस्थापनमा रहेका विभागीय प्रमुखहरुबीच भएको एक बैठकमा विभागीय प्रमुखहरुले शर्माको गलत आचरणविरुद्ध खुलेर आवाज उठाएको अडियो पनि नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।

यस सम्बन्धमा प्रहरी नायव उपरीक्षक दीपेश जोशीले कर्मचारीहरुकै सहमतिमा अनुसन्धानका लागि उहाँहरुबाट मोबाइल लिइएको हो, अनुसन्धान जारी छ, अहिले नै केही भन्न सकिन्न भन्नुभयो ।

पछिल्लो केही समययता ‘एसओएस ब्ल्याक लिस्टेड भयो’ भन्दै आफ्नै प्रशासकहरुलाई जानकारी गराउँदै आएका कार्यकारी प्रमुख ईश्वरीप्रसाद शर्मालाई बारम्बार फोन सम्पर्क गर्नखोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

 

प्रतिक्रिया दिनुहोस्