दुई मोटरेवल पुल निर्माणकार्य अलपत्र



लमजुङ ।

वर्षौंदेखि अलपत्र परेका दुईवटा मोटरेवल पुलको निर्माणकार्य तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गतका मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेवल पुलको काम निर्माणमा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो ।

ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेवल पुल निर्माण शुरु भएको वर्षों बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धिीत निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको छ । सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गरी फरफारक गर्न निर्देशन दिइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।

हिमपातपछिको जनजीवनबारे स्थलगत अवलोकनका लागि सो क्षेत्र पुगेका प्रजिअसहितको टोलीलाई स्थानीयले लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको उहाँको भनाइ छ ।

ङिस्याङ गाउँपालिका–४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मर्याङ्दी नदीको मोटरेवल पुल र वडा नं ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्र रहेको छ । करिव पाँच वर्ष अघिबाट निर्माण शुरू भएको हुम्डे ङावल पुल करिव ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो ।

काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ४ करोड ५१ हजारको लागतमा निर्माण शुरु गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनर्निर्माण शुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो ।

संघीयता कार्यान्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । त्यसपश्चात् मनाङमै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो ।

त्यसै गरी, मनाङको माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेवल पुल अलपत्र अवस्थामा रहेको छ । आर्थिक वर्ष ०७४/७५ मा सम्झौता भई निर्माण शुरु भएको सो मोटरेवल पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।

सो मोटरेवल पुल निर्माणका लागि स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो । कम्पनीले ९ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कोरोना जोखिमको बाहना बनाएर कम्पनीले निर्माण अवधि लम्ब्याउँदै गएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्