सातदोबाटो युथ क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश



न्युज अफ नेपाल, भद्रपुर ।

टाई ब्रेकरमा भाग्यमानी साबित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

टाई ब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।

सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाई ब्रेकरमा गोल गर्न सफल भए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए ।

नीरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १/१ को बराबरी ग-यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पु-याए ।

पहिलो हाफ २–१ मा टुङ्गियो । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष् राईले गोल गर्दै खेल बराबरीमा पारे । नीरज चौधरीकै पासमा राई जावला खेलका गोल रक्षक ईश्वर गुरुङ बिट हुँदा गोल गर्न सफल भए । पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए ।

उनले नगद ९ हजार ९९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र सङ्कटा क्लबबीच हुने आयोजकले जनाएको छ । ३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । झापा गोल्ड कपका सदस्यसमेत रहनु भएका ओलीले डोमालाल राजवंशी रंगशालको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्