चेल्सी एफए कपको क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

चेल्सी इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि रोमाञ्चक जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सीले यस प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरेका थिए । लुटोन टाउनका रिस वर्क र ह्यारी कर्निकले गोल गरे ।

लुटोनको मैदानमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमै रिस वर्कको गोलबाट चेल्सीपछि परेको थियो । खेलको २७औं मिनेटमा सउल निग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, ४०औं मिनेटमा ह्यारी कर्निकले गोल गरेपछि चेल्सी पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

खेलको ६८औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसको १० मिनेटपछि ७८औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि अन्ततः चेल्सीले ३–२ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्