फेरि उठ्दै राप्रपा

‘जनताले विकल्प खोजेका छन्’



काठमाडौं ।

गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ ।

गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिट छ । दोस्रो संविधानसभामा मुलुकको सदनमा ३७ सिटको साथ चौथो ठूलो दल बनेको राप्रपा पछिल्लो समय पार्टी फुटको शिकार बन्नुका साथै आफ्नो एजेन्डाबाट विचलित भएको भन्दै आलोचित बनेको थियो ।

हिन्दूराष्ट्र, राजसंस्थाको पक्षपाती राप्रपाले रीतिरिवाज, परम्परा, संस्कृतिको रक्षा गरेर पनि समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने धारणा राख्दै आएको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनमा २०औं वर्षदेखि पार्टी नेतृत्वमा रहेका कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेका राजेन्द्र लिङ्देन भन्नुहुन्छ– ‘हामी सुशासनको हिमायती पनि हौं ।’ आउँदो स्थानीय निर्वाचनमा सबै तहमा राप्रपाको उम्मेदवार खडा गर्ने भन्दै आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा अन्य दलसँग तालमेल हुन सक्ने बताउनुहुन्छ । वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकतामा राख्दै राप्रपाभित्र महामन्त्री भुवन पठकाले तयार पारेको स्थानीय निर्वाचनसम्बन्धी कार्यपत्रमाथि छलफल भइरहेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएअनुसार राप्रपामा मंसिरमा सम्पन्न अधिवेशनमा १ लाख ५० हजार क्रियाशील सदस्य थिए भने अहिले यो संख्या थपिने क्रम जारी छ । साथै अन्य दल परित्याग गरी राप्रपा प्रवेश गर्नेको संख्या पनि वृद्धि हँुदै गएको भन्दै उहाँले राप्रपाले फागुनभित्रै उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ । स्थानीय निर्वाचन लक्षित कार्यक्रमअन्तर्गत देशभर सानाठूला २ सयभन्दा बढी सभा गर्नुका साथै सबै पार्टी संगठनलाई क्रियाशील बनाउने र लोकप्रिय र सामाजिकरूपमा प्रतिष्ठित व्यक्तिलाई उम्मेदवार बनाउने तयारी भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

गत मंसिरमा प्रमुखदलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका साथै राप्रपाको पनि महाधिवेशन भएको थियो । अन्य दलहरुले नेतृत्व रुपान्तरणको कुरा गरे पनि राप्रपाले भने नेतृत्वको रुपान्तरण र पुस्तान्तरण गर्न सफल भएको थियो । कांग्रेसले भने नेतृत्व रुपान्तरणका लागि ठूलो प्रयास गरे पनि सफल हुन सकेको थिएन । राप्रपाको पार्टीभित्र आएको नेतृत्व रुपान्तरण र पुस्तान्तरण आउँदो निर्वाचनमा प्रकट हुने भन्दै प्रवक्ता श्रेष्ठ अब हुने स्थानीय निर्वाचनबाट राप्रपाले गत निर्वाचनमा गुमेको साख फर्काउने दाबी गर्नुहुन्छ ।

हिन्दूराज्य र राजसंस्थाको जगमा रहेर समृद्ध नेपाल बनाउने लक्ष्यका साथ अघि बढेको राप्रपाबाट कमल थापा अलग भएपछिको असर मूल्यांकन गर्दै राप्रपाले भनेको छ– ‘कमल थापाले राप्रपाबाट अलग हुँदा भावनात्मक असर मात्र परेको छ, पार्टी संरचना र संगठनमा कुनै असर परेको छैन ।’ विचारमा दृढ रहेको राप्रपाप्रति पुनः जनविश्वास जागृत हुँदै गएको भन्दै राप्रपा प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ– ‘अन्य राजनीतिक दलको नेतृत्व टेस्टेड भइसकेको र राप्रपाको नेतृत्व टेस्टेड हुन बाँकी छ, त्यो भएर पनि आउँदो निर्वाचनमा राप्रपाले चुनाव जित्छ ।’

‘जनताले विकल्प खोजेका छन्’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क भएका जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताउनुभएको छ ।

‘राप्रपा वैकल्पिक शक्तिका रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ ।’ –डा. लोहनीले राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै भन्नुभयो ।

‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेका छन्’, उहाँले भन्नुभयो– ‘राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन् ।’

राप्रपामा आएको लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ भन्दै उहाँले समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । विधान र प्रक्रियाले दिएको शक्तिबाट अघि बढ्न आग्रह गर्दै उहाँले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘वातावरण हाम्रो पक्षमा छ ।’ राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्