बन्चरेडाँडामा यसरी बन्दैछ ल्याण्डफिल साइट (फोटोफिचर)



मधुसुदन रायमाझी, काठमाडौं । 

काठमार्डौ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने मुख्य उद्देश्य सहित बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम यही चैत्रभित्र सम्पन्न हुने भएको छ । धादिङ र नुवाकोट जिल्लाको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम अन्तिम चरणमा पुगेको हो ।

सेल वान सम्पन्न  भएर सञ्चालन हुने अवस्थामा रहेको छ भने सेल टु आगामी एक महिनाभित्र सम्पन्न हुने गरी तीव्र गतिमा काम भइरहेको छ । निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइटको आज शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थलगत रूपमा निरीक्षण गरेर आगामी एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उहाँले काठमाडौं उपत्यकाभित्र फोहोर नउठ्नुमा शहरी विकास मन्त्रालयको कुनै पनि दोष नरहेको बताउँदै भन्नुभयो,‘हाम्रो कारणले फोहोर उठन नसकेको होइन, सेल वानमा फोहोर फयाक्ने तयारी अवस्थामा छ, हामीले काठमाडौं महानगरपालिकालाई फोहोर फ्याँक्न पनि भनिसकेको छौ, सेल टुको काम सम्पन्न हुने अवस्थामा रहेको छ ।’

ल्यान्डफिल साइटमा बाँकी रहेको काम तीव्र गतिमा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भन्नुभयो,‘कुनै पनि बहानाबाजीमा अब ढिलासुस्ती स्वीकार्य छैन, चैत्रभित्र कुनै पनि हालतमा काम सम्पन्न हुनुपर्छ ।’ सिसडोलबाट पाठ सिक्दै नयाँ प्रविधि प्रयोग गरेर ल्यान्डफिल साइटको निर्माण गरिएको बताउँदै उहाँले अब उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

शहरी विकास सचिव मणिराम गेलालले बन्चरेडाँडा ल्यान्डफिल साइटलाई नमूना आयोजनाको रूपमा लिएको बताउँदै आगामी चैत्रभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । ‘सेल वानको तयारी अवस्थामा छ, सेल टुको काम पनि तीव्र गतिमा काम भइरहेका छ, यही चैत्रभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाइरहेका छौ ।’ गेलालले डिजाइन अनुसार फोहोर र्सिजन गर्नुपर्नेमा जोड दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले सेल वानमा अहिले नै फोहोर फ्याँक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘डिजाइन अनुसार वैज्ञानिक ढंगले फोहोर विर्सजन गर्ने हो भने एक सय बर्षसम्म काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्न सकिन्छ, अहिले फोहोर फ्याँक्ने शैलीले फ्याँक्ने हो भने ल्यान्डफिल साइट वीस वर्षमा भरिन्छ ।’

आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको ल्यान्डफिल साइटमा सेल वानबाट निस्किने दूषित पदार्थ ९लिचड० जम्मा हुने ट्याङकी निर्माणको काम सम्पन्न भएसँगै अब फोहोर व्यवस्थापन गर्न मिल्ने भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक तथा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजनाका प्रमुख रामचन्द्र दंगालले सेल वान सञ्चालन गर्न सकिने गरी तयारी पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार तत्काल नै सेल वानलाई सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको  काम सम्पन्न  भइसकेको छ । विभागले तत्काल काठमार्डौं महानगरपालिकालाई बन्चरेडाँडामा डिजाइन अप्रेसन म्यानुअल अनुसार फोहोर व्यवस्थापन गर्न  आग्रह गरेको छ ।

फोहोर व्यवस्थापनमा नेपालकै महत्वपूर्ण नमूना आयोजनाको रूपमा लिइएको ल्यान्डफिल साइट सञ्चालनमा आउने भएपछि काकमार्डौ उपत्यकाको फोहोर विर्सजन गर्न अब बारम्बार समस्या समेत  समाधान नहुने भएको छ । उपत्यकाभित्रको फोहोर व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको बेला बन्चरेडाँडामा निर्माण भइरहेको  आधुनिक ल्याण्डफिल साइट निर्माणले उपत्यवासीमा खुसी छाएको छ ।

काठमाडौंबाट करिब २ घण्टाको दुरीमा रहेको ल्याण्डफिल साइट हाल फोहोर विर्सजन गरिदै आएको सिसडोल नजिकै  निर्माण भइरहेको छ । हाल निर्माणाधीन ल्याण्डफिल साइटबाट स्थानीयवासीमा दुर्गन्ध फैलिन नदिन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

विभाग र लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभीबीच २०७६ वैशाखमा करिब ३४ करोडमा दुई वटा सेल निर्माण गर्ने सम्झौता भएको थियो । झण्डै तीन वर्षपछि महत्वपूर्ण मानिएको ल्याण्डफिल साइट अब भने सञ्चालनमा आउने भएको छ ।  त्यसैगरी ५२ करोडमा लागतमा कालिका कन्ट्रक्सनले १५ मिटर अग्लो बाँध निर्माण गरिरहेको छ ।

बाँध निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको र बाकी काम चैत्रभित्र सम्पन्न गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ ।
धादिङको धुनेवसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँड ल्यान्डफिल साइटमा फोहोर विसर्जनसँगै स्थानीयवासीको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,‘हामीले फोहोर फ्याँक्न नदिने भनेका छैनौ, तर स्थानीयको जायज माग सम्बोधन हुनुपर्छ मात्र भनेका हौँ ।’  आँगनमा फोहोर राखेर घरभित्र सफा छ भन्यौ भने हामी चुक्छौ, सडक व्यवस्थापन वातावरणीय रूपमा यहाँका नागरिकको सुरक्षाको लागि के काम गछौ भन्ने सरकारले दायित्व पूरा गर्नुपर्छ, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्