सेमिफाइनल समीकरण पूरा



बैतडी ।

बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लव सेमिफाइनल पुगेसँगै उक्त समिकरण पूरा भएको हो । यसअघि, कैलपाल क्रिकेट क्लव,आयोजक पाटन युवा क्लव र पाटन क्रिकेट एकेडेमी अन्तिम चारमा पुगिसकेका छन् । बुधबार भएको खेलमा ग्वाल्लेकले भुमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगायो ।

भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । टिमलाई जित दिलाउन दीपक जोशी नायक बने । उनले अर्धसतकीय पारी खेल्ने क्रममा सर्वाधिक ६८ रन जोडे । भूमेश्वरका नविन विष्टले २ विकेट हात पारेका थिए ।

त्यसअघि, श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको भुमेश्वरले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय १३ रन जोडेको थियो । जसमा उमेश महराले २४ रन र दीपेन्द्र विष्टले २३ रन बनाए । ग्वाल्लेकका दीपक जोशी र प्रेम चन्दले २/२ विकेट लिए ।

यसैबीच, सेमिफाइनलका खेलहरू बिहीबार हुने भएका छन् । पहिलो सेमिफाइनलमा कैलपाल र ग्वाल्लेक भिड्दा दोस्रोमा आयोजक पाटन र एकेडेमीबीच प्रतिस्प्रर्धा हुनेछ । फाइनल खेल फागुन २० गते हुनेछ । उपाधि विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले २२ हजार २ सय २२ नगद प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३, बेस्ट ब्याट्सम्यान र बलरलाई समान १ हजार १ सय ११ नगद दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्