भुपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न सरकारले बनायो समिति



न्युज अफ नेपाल, काठमाडौं ।

भुतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै हुने भएको छ ।

सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको हो । नव नियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वार्ताको पहल शुरु भएको जानकारी गराएका हुन् ।

राजदूत आचार्य गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो सम्मानमा लन्डनमा गरेको एक कार्यक्रममा बोल्दै थिए । उनले त्रिपक्षीय वार्ता सफल बनाउन सबैको योगदान आवश्यक हुने पनि औंल्याए । गत बुधबार लन्डनस्थित नेपाली दूतावासमा पदबहाली गरेका आचार्यलाई नेपाल सरकारले वार्ताको नेतृत्व गर्न जिम्मेवारी सुम्पेको छ ।

कार्यक्रममा आफ्ना केही प्राथमिकता उल्लेख गर्दै राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, कूटनीतिक राजनीतिक, आर्थिक, सांस्कृतिक, व्यापारिक, शैक्षिक सम्बन्ध अझ सुदृढ र परिणाममुखी बनाउने बताए ।

हजारौं गोर्खाहरु त्रिपक्षीय वार्ता मिति कुरेर बसेको जनाउँदै राईले नयाँ राजदूतबाट गोर्खा माग सकारात्मक ढंगले अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।उक्त कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले राजदूत समक्ष एक ज्ञापन र अवधारणापत्र पनि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्