कांग्रेस मकवानपुर सभापतिमा लामा



हेटौंडा  ।

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएको हो ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा र पराजुलीसहित छलफलबाट लामालाई सभापति चयन गर्ने निर्णय भएको हो । सोमबार भएको पहिलो चरणको मतदानमा लामाले ५ सय ९२ मत प्राप्त गर्दा पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए । अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए  । १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।

जिल्ला सभापति लामालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पार्टी कार्यालय हेटौंडामा मंगलबार निर्वाचन अधिकृत गोपी शर्मासुबेदीले नवनिर्वाचित लामालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन  । अर्का उम्मेदवार पराजुलीले हार्दिकता प्रस्तुत गर्दै सहमति जनाएपछि लामा दोस्रो चरणमा निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेसको प्रावधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत् मत ल्याउनुपर्ने हुन्छ । लामा, पराजुली र लामिछाने तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबभन्दा बढी मत ल्याउने लामा र निकटतम प्रतिस्पर्धी पराजुलीबीच दोस्रो चरण निर्वाचन गर्नुपर्ने अवस्था बनेको थियो । तर, दोस्रो चरण निर्वाचन नगरी सहमतिबाट लामाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउने सहमति भएको हो ।

प्रमाणपत्र ग्रहण गर्दै लामाले सबैलाई समेटेर अघि बढ्ने बताए। उनले आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको भन्दै अब सबैलाई समेटेर अघि बढ्ने बताए। लामाले व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसको जित भएको भन्दै उम्मेदवार बनेका तीनै जनाको जित भएको बताए । उनले आगामी दिनमा संगठन सुदृढीकरण र आगामी चुनाबी अभियानमा अघि बढ्ने योजना सुनाए।

‘आन्तरिक प्रतिस्पर्धा सकियो’

मंगलबार पार्टी कार्यालयमा लामा सभापति भएको घोषणा गर्ने कार्यक्रममा केन्द्रीय सहमहामन्त्री डीनाले पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएको बताए । नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा वडादेखि भिडेर आफ्नो क्षमता प्रतिस्पर्धा गरेर आएको भन्दै जिल्ला नेतृत्वका लागि सर्वसम्मत् सहमतिको प्रयास गरे पनि प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरुले प्रतिस्पर्धा गरेकोमा कार्यकर्ताले करिब समान मत दिएकोमा खुशी व्यक्त गरे ।

उनले वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसको महाधिवेशन सकिएको भन्दै नेपाली कांग्रेसको सरकारले मुलुकलाई बचाएको दाबी गरे। सहमहामन्त्री उपाध्यायले मुलुकको आर्थिक अवस्थालाई जीर्ण हुन नदिन एमसीसीजस्तो विषययलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पास गरेर मुलुकलाई बचाएको बताए । अबको स्थानीय तहको निर्वाचनमा हरेक गाउँ तहसम्म पुगेर नेपाली कांग्रेसलाई जिताउन अभियानमा लाग्न उनले आग्रह गरे ।

‘जनजाति नेतृत्व’

पार्टी कार्यालयमा लामा सभापति भएको घोषणा गर्ने कार्यक्रममा कांग्रेस वागमती प्रदेश सभापति बानियाँले जनजातिको बाहुल्यता भएको मकवानपुरमा जनजातिले नेतृत्व पाएको बताए । २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको भन्दै बानियाँले नेपाली कांग्रेसले सबै जातजातिलाई मिलाएर अगाडि बढाएको दाबी गरे । ‘नेपाली कांगे्रसले कसैलाई पनि अन्याय गर्दैन भन्दै कुरा थप पुष्टि भएको छ,’ उनले भने। उनले सभापतिको नेतृत्व पाएका लामालाई जिल्लाभर नेतृत्व गर्दा पक्षपात नगरी अगाडि बढ्न आग्रह गरे ।

‘चुनौतीमा साथ’

सभापतिका उम्मेदवार पराजुलीले नवनिर्वाचित लामाको कार्यकालमा आउने जस्तोसुकै चुनौतीमा आफ्नो साथ रहने प्रतिवद्धता जनाए । पराजुलीले आफू सभापति नभए पनि सभापतिमा विजयी हुनुभएका लामाका हरेक चुनौतीमा सधैं साथ दिने बताए ।‘यो कांग्रेसको निर्वाचन हो । प्रजातान्त्रिक अभ्यास पनि हो । म सभापति नभए पनि मलाई अमूल्य मत दिएर न्याय प्रदान गर्ने कार्यकर्तालाई हरेक दुःखमा मेरो साथ रहने छ,’ उनले भने । जिल्लाका नेता-कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा पराजुलीले लामालाई चुनौती र जिम्मेवारी रहेको बताउँदै जुनसुकै परिस्थितिमा हरदम साथ दिने विश्वास दिलाए ।

८ जना निर्विरोध

नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छ्न् । आइतबार भएको मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन गर्दै जिल्ला निर्वाचन समितिले ८ जना निर्विरोध निर्वाचित भएको जनाएको हो । निर्विरोध निर्वाचित हुनेमा दलिततर्फ डम्बरबहादुर बिक, थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने, इन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ विष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिका महिलातर्फ बच्चीमाया नेगी र वागमती गाउँपालिका खुलातर्फ शेरबहादुर रानामगर र बकैया गाउँपालिका खुलातर्फ सेतेमान बल छन् ।

प्रतिक्रिया दिनुहोस्