स्थानीय तहको निर्वाचनका लागि ८० दल दर्ता



काठमाडौं ।

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका १ सय १० दलमध्ये ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिने समय दिएको थियो ।

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलको नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ । यसैबीच आयोगले मतदाता नामावली अद्यावधिक गरी राजपत्रमा प्रकाशित गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भएमा त्यसलाई सच्याउन सकिने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा भएको आफ्नो विवरण सच्याउन निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसबारे निर्वाचन कार्यालयलाई परिपत्र पठाइसकेका छौं । त्यसै गरी इमेल/फ्याक्सबाट समेत सो निवेदन लिन सकिने गरी निर्देशन दिइएको छ ।’

मतदाता परिचयपत्र पाई हराएमा वा नासिएमा पनि त्यसको प्रतिलिपि पाउन निवेदन दिनसक्ने छ । यसका लागि मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

आयोगले प्रतिस्पर्धात्मक ढंगले निर्वाचन सामग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि बोलपत्र सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाइसकेको जनाएको छ । त्यसै गरी, आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको पनि जनाएको छ । आयोगले सरकारसंग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपियाँको बजेट निकासाको लागि पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्