एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्ता साझेदार दलका नेताहरु गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमत भएका हुन् ।

यसअघि आइतबार खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।

संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्