कोरोना रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना



काठमाडौं ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय संसद्को संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न राजनीतिज्ञहरूलाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभामा चार वर्षे कार्यकाल पूरा गरी बिदा हुन लाग्नुभएका तथा दुई वर्ष कार्यकाल बाँकी रहेका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड–१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौं ।’

सो अवसरमा उहाँले कोभिड महामारीले अवसर पनि उपलब्ध भएको भन्दै यसको कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको जिकिर गर्नुभयो । कार्यक्रममा उहाँले गत वर्ष सातवटा प्रदेशमा कोभिड जोखिम सञ्चारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि सकारात्मक प्रतिक्रिया आएकाले यो वर्ष राष्ट्रियसभाका सदस्यहरूको सहभागितामा यो कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले यस्तै कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरूको उपस्थितिमा आयोजना हुने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. समाजीराव पाण्डवले कोरोनाजस्ता महामारीले ल्याउने आपतकालीन अवस्थाबाट सुरक्षित हुने उपाय र कोरोना खोपको आवश्यकताबारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभा सदस्यहरू, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्