नक्कली शैक्षिक प्रमाणपत्र बिक्री गर्ने दुई पक्राउ



पर्वत ।

पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई जनालाई पर्वत प्रहरीले पक्रेको छ । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पर्वत जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङका रिमबहादुर हमाल र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका –का तुलाराम नाम्जाली मगरलाई पक्राउ गरेको हो ।

हमाललाई नक्कली प्रमाणपत्र तयार गर्ने पसल तथा मगरलाई काठमाडौंबाट पोखरा आउने क्रममा पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । पक्राउ परेका दुवै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिकसमेत गरेको छ ।

हमाल र मगरले पोखरामा रहेको भूतपूर्व सैनिक अनलाइन सेवा नामक पसलमा नै विभिन्न विद्यालय तथा एसईई परीक्षाका नक्कली प्रमाणपत्रहरु तयार गर्दै आएका थिए । उनीहरुले १ लाख २५ हजार रुपियाँ लिएर एक सेट एसईई परीक्षाका प्रमाणपत्रको सेट नै बिक्री गर्दै आएको जिल्ला प्रहरी कार्याल पर्वतका प्रमुख डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

अभियुक्तहरुले ५ वर्षभन्दा अघिदेखि यस्तै नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र बिक्री गर्दै आएको पाइएको छ । प्रहरीले विभिन्न विद्यालयको नामका तथा व्यक्तिका तयारी प्रमाणपत्र तथा प्रमाणपत्र तयार गर्न प्रयोग गरिएका कम्युटर, प्रिन्टरलगायतका प्रमाणपत्रसमेत बरामद गरेको छ । यसबाहेक प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय लमजुङको स्ट्याम्प प्याडसमेत बरामद गरेको छ ।

अभियुक्तहरुले खास गरी भारतीय तथा बेलायती सेनामा भर्ती हुने युवालाई उमेर घटाएर शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरेको पाइएको छ । भर्ती हुनेहरुका लागि प्रशिक्षकको काम गर्दै आएका अभियुक्त मगरले पटक–पटक भर्ती हुन असफल भएका युवालाई उमेर पुगेपछि फेरि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा उमेर घटाएर नागरिकता बनाउन सहयोगी बन्दै आएको अनुसन्धानबाट खुलेको छ ।

पर्वतको कुस्मा नगरपालिका–११ का आशिष केसीले पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रका आधारमा दोस्रोपटक नागरिकता बनाएको भेटिएपछि उनका नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहको खोजीका क्रममा अभियुक्तहरुलाई पक्रन प्रहरी सफल भएको बुढाथोकीले जनाउनुभयो । प्रहरीले नक्कली कागजात बनाउने र बिक्री गर्ने अन्य गिरोहको समेत खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्