पर्वतमा थपिए १५ हजार नयाँ मतदाता



पर्वत ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन् । जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनपछि १४ हजार ६ सय ९० मतदाता थप भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका १ लाख २१ हजार ९ सय ९० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका १ लाख ७ हजार ३ सय जनाले नाम दर्ता गराएका थिए ।

स्थानीय तहअनुसार हेर्दा अहिले कुस्मा नगरपालिकामा ३१ हजार ३ सय २४ जना, जलजला गाउँपालिकामा १६ हजार ३ सय ९८, मोदी गाउँपालिकामा १९ हजार ६ सय ७७ जना, पैयुँ गाउँपालिकामा ११ हजार ६ सय २९ जना, फलेवास नगरपालिकामा २३ हजार ५ सय ६२ जना, महाशिला गाउँपालिकामा ८ हजार २ सय ३७ जना र बिहादी गाउँपालिकामा ११ हजार १ सय ६३ जना मतदाता रहेका छन् ।

प्रदेशसभा निर्वाचनका लागि दुईवटा क्षेत्र रहेको पर्वतमा क्षेत्र नं. २ मा भन्दा एकमा मतदाताको संख्या बढी रहेको छ । अद्यावधिक विवरणअनुसार क्षेत्र नं. एकमा ६७ हजार ३ सय ९९ जना मतदाता रहँदा क्षेत्र नं. २ मा ५४ हजार ५ सय ९१ जना रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार यो तथ्यांक प्रशोधन हुन बाँकी रहेका कारण देखिएको संख्यामा भने केही थपघट भने हुन सक्नेछ । यो संख्या जिल्लाभित्र संकलन गरिएका मतदाताको मात्रै भएको र बाहिरी जिल्लामा बसेर नाम दर्ता गराएकाको विवरण समावेश नभइसकेका कारण अन्तिम नामावली प्रकाशन गर्ने बेलामा संख्या तल–माथि हुन सक्ने उहाँको भनाइ छ ।

‘यो तथ्यांक नै अन्तिम तथ्यांक होइन । बाहिरी जिल्लाबाट नाम दर्ता गराएकाको नाम पनि सर्भरबाट एकीकृत गर्नुपर्ने हुन्छ । कसैको मृत्यु भएको छ भने हटाउनुपर्छ । त्यो काम वडाबाट हुन्छ’, निर्वाचन अधिकारी शर्मा भन्नुहुन्छ– ‘जिल्लाभित्रैका कोही–कोहीले पहिले नै नाम दर्ता गरेको भए पनि कुरा नबुझेर फेरि पनि नाम दर्ता गराएको पनि भेटिएको छ । यी सबै कुरा फिल्टर गर्ने काम अहिले चलिरहेको छ ।’

बसाइँ सरेर गएका तथा मृत्यु भएकाहरुको निधो गर्नका लागि विवरण वडामा पठाएर रुजु गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्