मनाङलाई हराएको एनआरटी दोस्रो स्थानमा



काठमाडौं ।

मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएर न्युरोड टिम (एनआरटी) जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरेका हुन् । मेसुकेले खेलको २६औं मिनेट गरेको गोल नै एनआरटीले मनाङलाई स्तब्ध पार्न पर्याप्त भयो । एरिक विष्टको फ्रिकिकमा मेसुकेले गोल गरेका हुन् । यो उनको जारी लिगमा टिमका लागि व्यक्तिगत पाँचौं गोल हो ।

यो पाँचौं जितले एनआरटीलाई अंकतालिकाको दोस्रो स्थानमा पनि पुर्यायो । एनआरटी सरह २० अंक भए पनि यो चौथो हारपछि हेड टू हेडमा चिप्लिएर मनाङ तेस्रो स्थानमा पुगेको छ । जति जति लिगको क्लाइमेक्स नजिक पुग्यो, त्यति नै मनाङको प्रदर्शन खस्किँदै गयो । आठौं चरणसम्म लिग विजेता मच्छिन्द्रलाई कडा चुनौती दिएको मनाङको लागि दोस्रो स्थान पनि गुम्ने सम्भावना छ ।

अन्तिम चरणको खेलमा एनआरटीले नेपाल पुलिस क्लबस“ग खेल्नेछ भने मनाङको सामना त्रिभुवन आर्मी क्लबसँग हुनेछ । आर्मी जारी लिगमा अपराजित दुई टिममध्ये एक हो । जारी लिगमा मच्छिन्द्र र आर्मी अपराजेय टिम हुन् । यसैले पनि मनाङको लागि दोस्रो स्थानबाट यस सिजनको लिग समाप्त गर्ने कार्य कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्