‘चल्ने गीत गाउनुलाई विकृति भन्ने कि दर्शकको रोजाइ’ : प्रतिमा अर्याल



पछिल्लो समय लोकदोहोरी भाका तथा काठे गीतहरुमा छाएको स्वर हो प्रतिमा अर्याल। ओइ गनगन, गैरी पिपल लर्के वर डाँडैमा, जुन तारा, उलुलुजस्ता गीतमार्फत लोकप्रियता कमाएकी हेटौंडाकी प्रतिमाले आधा दशककै समयमा मकवानपुर हेटौंडा, नक्कले केटो, जवानी, मुटुमा चोट, गंगा जमुना, तिम्रै मायाले, ए है पातली, बलेफीमा सुनकोशी दोभान, बाजा घन्काउँ छालाकोलगायत करिब डेढ सय गीत गाइसकेकी छिन्। लाइभ दोहोरी गायनमा समेत उत्तिकै माहिर प्रतिमाको स्टेज कार्यक्रमहरुमा पनि उत्तिकै माग छ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
गीत संगीतकै रेकर्डिङ र कार्यक्रममा व्यस्त छु। लकडाउनपछि कार्यक्रमहरु हुन थालेकाले त्यसले पनि व्यस्त बनाइरहेको छ।

गीत संगीत क्षेत्रमा सफलता पाउन कत्तिको संघर्ष गर्नुपर्यो?
कुनै पनि क्षेत्रमा सफलता पाउन संघर्ष त गर्नै पर्छ। मैले पनि धेरै संघर्ष गरेँ। संगीत क्षेत्र बाहिरबाट हेर्दा धेरै नै सजिलो देखिन्छ। तर, यो संघर्षको मैदान नै हो। म सानैदेखि गीत गाउँथें, गुनगुनाउँथें। त्यतिबेला, सबैले तिम्रो स्वर राम्रो छ, गीत गाउनुपर्छ भन्थे। तर, गीत कसरी गाउने? कहाँ गएर गाउने भन्ने थाहा थिएन। संगीत क्षेत्रमा लाग्न गायक राजु विरही दाइले सहयोग गर्नुभयो। पहिलोपल्ट उहाँकै संगीतमा हेटौंडा मकवानपुर बोलको गीत गाएँ। त्यसपछि चाहिँ निरन्तररुपमा आफ्नो गीत र एल्बम बजारमा ल्याएँ। ती गीत र एल्बमलाई दर्शक स्रोताले मन पराइदिनुभयो र आज यहाँ छु, निरन्तर गीत गाउन पाएकी छु।

संगीत क्षेत्रमा जम्न के – के गर्नु पर्दोरहेछ?
संगीत क्षेत्रमा सफलता हासिल गर्न धेरै कुरा आवश्यक छ। आफूलाई गीत गाउने रहर मात्र भएर हुँदैन, स्वर र प्रतिभा पनि हुन आवश्यक छ। स्वर र प्रतिभा भएर मात्र पनि हुँदैन, गीतमा लगानी गर्ने पैसा पनि चाहिन्छ। यो क्षेत्रमा अलिकति सफलता प्राप्त गरिसकेपछि चाहिँ आफ्नै साथीभाइ संगीबाट नै खुट्टा तान्ने प्रवृत्ति छ। त्यसलाई पन्छाउँदै अघि बढ्नुपर्छ। एउटा गीत निकालेर सफल भएन भनेर बस्नु हुँदैन, निरन्तरता दिइरहनुपर्छ।

तपाईं यो क्षेत्रमा जम्न ओइ गनगन बोलको गीत नै आउनुपर्यो नि?
हो, मैले ओइ गनगनभन्दा अघि पनि धेरै गीत गाएको थिएँ। गैरी पिपल, लर्के वर, डाँडैमा, जुन ताराजस्ता गीत पनि चर्चित थिए। गैरी पिपल, लर्के वर, डाँडैमा बोलको गीतमा समावेश कम नसोच हेटौंडे नानी पानी खाँदै लाग्ने ज्यान खान्दानी भन्ने शब्दका कारण मलाई धेरैले हेटौंडे नानी भन्ने गर्नुहुन्थ्यो। तर, सानु केसी दाइको शब्दमा संगम थापा दाइसँग ओइ गनगन गाएपछि चाहिँ अझैँ धेरै दर्शक स्रोताले चिन्नुभयो। यही गीतका कारण धेरैले मलाई अहिले गनगन दिदी भनेर बोलाउनुहुन्छ, चिन्नुहुन्छ। यो गीत चलेपछि मलाई धेरैले गीत गाउन अफर गर्न थाल्नुभयो। त्यसपछि, मैले लगातार गीत पाईरहें। कार्यक्रममा व्यस्तता पनि बढ्यो। पछिल्लो समयचाहिँ दिनेश श्रेष्ठ, अर्जुन भुसाल र सुमित्रा भद्मराई र मेरो स्वर रहेको उलुलु गीतलाई दर्शकले धेरै माया गर्नुभएको छ।

गीत गाउन अफर आउँदा के कस्ता कुरामा ध्यान दिनुहुन्छ?
विशेषतः म कुनै पनि गीत गाउँदा शब्दमा ध्यान दिन्छु। शब्द राम्रो छैन भने चेन्ज गर्न लगाउँछु। आफैँले पनि यस्तो, यो यो शब्द राख्दा ठीक हुन्छ भनेर सुझाउँछु। तर, नयाँ हुन् या पुराना जसले अफर गरे पनि गीत गाइदिन्छु। लय या शब्द मन परेन, गाउँदिन भन्नेचाहिँ बानी छैन। मलाई पनि अग्रज गायकहरुसँग गीत गाउन रहर हुन्छ। तर, उहाँहरुले तिमीसित गाउँदिन भनेर अस्वीकार गर्नुभयो भने मलाई चित्त दुखेजस्तै मैले पनि कसैलाई तपाईंको गीत गाउँदिन भन्दा चित्त दुख्न सक्छ। त्यही कारण म जसले अफर गरे पनि सबैको गीत गाउँछु।

गीत गाउने क्रममा रेकर्डिङमा गाह्रो कि लाइभ दोहोरी?
सजिलो भन्ने त केही पनि हुँदैन, दुवैमा गाह्रो हुन्छ, मेहनत गर्नै पर्छ। गीत रेकर्ड गराउँदा पनि कहिल्यै नसुनेको लय र शब्दमा गाउन सजिलो हुँदैन, लाइभमा गाउँदा पनि केटाले गाइरहेको बेलामा एकैछिनमा शब्द बनाएर जवाफ दिनु आफैँमा कठिन सिर्जना हो। दोहोरी गाउने भनेको दिमागको खेल हो। अरुको गाएको सुनेको र हेरेको जस्तो सजिलो हुँदैन। मलाई त अहिले त्यस्तो गाह्रो लाग्दैन, बानी परिसकेको छ। तर, भर्खरै दोहोरी गाउन शुरु गरेका कलाकारलाई गाह्रो हुन सक्छ।

मौलिक संस्कृति भनेर चिनिने लोक तथा लोकदोहोरी गीतमा विकृति बढ्न थालेको गुनासो आइरहेको छ नि?
गीत गाउने भनेको दर्शक स्रोताको रोजाइअनुसार हो। सेन्टिमेन्टल गीत ल्याउँदा कसैले सुन्दैन र हेर्दैन, भ्युज जाँदैन। तर, उट्पट्याङ शब्द भएका रमाइला गीतको धेरै भ्युज जान्छन्। त्यस्तै गीत चल्छन्। त्यस्ता गीतलाई लिएर समाजले विकृति फैलियो पनि भन्छ, तर, चल्छन्चाहिँ त्यस्तै गीत। चल्ने खालका गीत ल्याउनु विकृति भन्ने कि दर्शक स्रोताको रोजाइ भन्ने?

पछिल्लो समय लाइभ दोहोरी गाउँदा कलाकारहरुले गर्ने शब्द चयनलाई के भन्नुहुन्छ?
लाइभ दोहोरी परिवारसँग बसेर हेर्न र सुन्नै नसकिने भयो पनि भनिन्छ। तर, गाउने बेलामा केटाले त्यस्तै गाइदिन्छ, त्यसको जवाफ दिनै पर्यो। जवाफ नगाएर हार्ने कुरा पनि भएन, फेरि अहिले टिकटकलगायतका सामाजिक सञ्जालमा त्यस्तै खालका शब्द भएका साना साना क्लीप्स काटेर हालिदिने चलन छ। त्यो सुनेर फलानीले यस्तो गीत गाई भनेर कुरा काट्छन्। तर, त्यो प्रसंगवश गाइएको हुन्छ। कमेन्ट गर्नुअघि पूरै गीत सुनेर प्रसंग बुझ्नु राम्रो हुन्छ।

परिवारको राम्रै साथ पाउनुभएको होला?
हाम्रो समाजमा यसै पनि छोरी मान्छेलाई बाहिर निस्कन गाहै्र छ, अझ म त बुहारी मान्छे। घर व्यवहार सम्हालेर, इष्टमित्रको चित्त बुझाएर मात्र बाहिर निस्कनुपर्ने हुन्छ। यसो गर्दा शुरु-शुरुमा त गाह्रो थियो। तर, अहिलेचाहिँ सबैले साथ दिनुभएको छ। अझ राम्रो गाऊ भनेर प्रोत्साहन दिनुहुन्छ। छोराछोरी सानै हुँदाखेरी गीत संगीतमा लागेको थिएँ। अहिले उनीहरु पनि ७/८ वर्षको भइसके। परिवार हेटौंडामै बस्नुहुन्छ, मचाहिँ गीत रेकर्डिध्रका लागि काठमाडौं आउनुपर्ने हुन्छ, कार्यक्रमका लागि बाहिर हिँडिरहनुपर्ने हुन्छ। रेकर्डिध्र र कार्यक्रम सकिनासाथ चाहिँ हेटौंडा फर्कन्छु।

आर्थिक हिसाबले सन्तुष्ट हुनुहुन्छ नि?
लगानी गरेर गीत वा एल्बम निकालेर रिर्टन पाउने अवस्था त छैन। एउटै गीत तयार पार्न एक डेढ लाख लाग्छ, गीत चल्यो भनेचाहिँ स्टेज प्रोग्रामहरु पाइन्छ, अरु गीत गाउन अफर पाइन्छ। अरुको गीत गाएर त खासै कमाइ हुँदैन। फेरि मलाई पारिश्रमिक यति नै चाहिन्छ, नत्र गाउँदिन भन्दिन । किनभने लगानी गर्नेलाई आप्mनो गीत राम्रो बनोस् भन्ने लाग्छ। म पनि धेरै गीतमा लगानी गरेर आएको हुनाले लगानी गर्नेलाई कति गाह्रो पर्छ भन्ने मलाई थाहा छ। मेरो गीतचाहिँ लकडाउनको बेलामा चलेको कारणले स्टेज प्रोग्रामहरु ठप्पै थियो। गीत चलेअनुसार स्टेज कार्यक्रममा धेरै नै व्यस्त हुनुपर्ने हो, तर मैले त्यति अवसर पाइनँ। हिजोआज केही मेला महोत्सव हुन थालेका छन्। त्यसले सामान्य जीविकोपार्जन त हुन्छ। तर, प्रतिमा अर्याल भनेर दर्शकको माया पाएको छु, त्यही नै ठूलो कुरा हो।

यो क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई तपाईंको सुझाव?
जुनसुकै क्षेत्रमा आउँदा बुझेर आउनुपर्छ। रहर मात्र भएर हुँदैन, प्रतिभा पनि हुनुपर्छ। साथै पैसा पनि चाहिन्छ। आफूमा भएको प्रतिभा देखाउन सक्नुपर्छ। यो नध्र र मासुजस्तै भएर सँगै हिँडेका साथीले पनि आफूभन्दा अगाडि गएपछि खुद्मा तान्ने क्षेत्र हो। कहिलेकाहिँ राम्रै काम गर्दा, कुरा गर्दा पनि विवादमा परिन्छ। मान्छेहरुले कुरा काट्छन्। यो सबै कुरासँग जुध्ने आत्मबल हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्