चिनीको मूल्यवृद्धिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं ।

बजारमा चिनीको अभावसँगै अचाक्ली मूल्यवृद्धि गरिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखी आपूर्ति व्यवस्थापन र मूल्य नियमन गरिदिन आग्रह गरेको छ ।

पत्रमा भनिएको छ– ‘विगत ४ वर्षदेखि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा चिनीको मूल्य अत्यधिक वृद्धि भइरहेको छ । नेपाली जनताको दैनिक अत्यावश्यक वस्तुका रूपमा रहेको र नेपाल सरकारले समेत अत्यावश्यक वस्तुको सूचीमा राखेको चिनीको मूल्य बढ्नुमा यहाँका उत्पादकहरूको मनपरी र तिनीहरूकै दबाबमा अत्यधिक मात्रामा लगाइएको भन्सार महसुलको कारणले नेपाली बजारमा चिनीको मूल्य बढी रहेको छ । यस्तो बेथितिका विरुद्ध मञ्चले धेरैपटक नेपाल सरकारलाई लिखित रूपमा निवेदन गर्दै आएको व्यहोरा प्रधानमन्त्रीमा अवगत गराउन चाहन्छौं ।’

नेपालमा वार्षिक कुल २ सय ८० लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ भने स्वदेशमा रहेका १३ वटा चिनी उद्योगहरूले करिब १ सय ८० लाख मेट्रिकटन मात्र उत्पादन गर्ने गर्दछ । समयमा किसानलाई उखुको भुक्तानी नदिने, समयमा मिल सञ्चालन नगर्ने र मिल नै बन्द गर्नेजस्ता काम गर्दा बजारमा चिनीको अभाव सधैँ हुने गरेको छ ।

यसरी उत्पादन र आवश्यकताको बीचमा तालमेल नहुँदा नेपालमा वर्षेनी करिब एक सय लाख मेट्रिक टन चिनी विदेशबाट आयात गर्नु परिरहेको र महंगीसमेत भोग्नुपरेको मञ्चको भनाइ छ । हाल नेपालमा भारत र पाकिस्तानबाट चिनी आयात हुने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कम मूल्य, भारतीय बजारमा नै ३५ देखि ३८ रूपैयाँमा पाउने चिनी नेपालमा भने प्रतिकिलो एक सय रूपैयाँ तिर्नुपरेको मञ्चको भनाइ छ । यस्तो मूल्यवृद्धि विगतमा १५ प्रतिशतले मात्र भइरहेकोमा पछिल्लो समय अधिकतम ४५ प्रतिशतसम्म भएको मञ्चको भनाइ छ । यस्तो मूल्यवृद्धि रोक्न र बजार अनुगमन तथा नियमन गर्न मञ्चले सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्