चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन



लन्डन, (एजेन्सी) ।

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१ गोलअन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो ।

साउदीस्थित मोहमेद बिन जियाद स्टेडियममा भएको खेलमा चेल्सीले ९० मिनेटपछि थप भएको ३० मिनेटको समयसम्म संघर्ष गरेर पेनाल्टी गोलको मदतमा खेल जितेको हो । ब्राजिलको क्लब पाल्मेरियसविरुद्ध जितका लागि चेल्सीले निकै संघर्ष गर्नुपरेको थियो ।

खेलमा दुवै तर्फबाट गरी जम्मा दुई वटा पेनाल्टी गोल भएका थिए भने पाल्मेरियस १ सय २६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । चर्को प्रतिस्पर्धा देखिएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल भएको थिएन । चेल्सीले ५५औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।कर्नर किकबाट आएको बलमा बेल्जियन फरवार्ड रामेलु लुकाकुले पेनाल्टी बक्स अघिबाट हेडिङमार्फत् उत्कृष्ट फिनिसिङमा गोल गरेर चेल्सीलाई अग्रता दिलाएका थिए । तर, त्यसको नौ मिनेटमै पाल्मेरियस खेलमा फर्कियो ।

उसका लागि राफाएल भेइगाले पेनाल्टीमार्फत् गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए ।त्यसपछि ९० मिनेटसम्म खेलमा हार–जित नभएपछि खेल ३० मिनेटको थप समयमा धकेलियो । जहाँ खेलको अन्तिम समय १ सय १७औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । सो पेनाल्टी जर्मन युवा खेलाडी काई हार्भट्जले प्रहार गर्दै सजिलै गोल गरेपछि बाँकी समयमा पाल्मेरियसले कमब्याक गर्न नसक्दा खेल चेल्सीले २–१ ले जित्न सफल भयो ।

चेल्सी गत सिजन च्याम्पियन्स लिग जितेको हैसियतमा क्लब विश्वकपमा सामेल भएको थियो । युरोपको क्लब च्याम्पियनले सोझै सेमिफाइनलमा प्रवेश पाउने नियम छ । यस प्रतियोगितामा सात महादेशका क्लब च्याम्पियनहरूले प्रतिस्पर्धा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्