राप्रपा नेपाल ब्युँताउँदै कमल थापा



काठमाडौं । 

अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएका नेता कमल थापा आफ्नो आफ्नो नेतृत्वमा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ब्युँताउने भएका छन् । राप्रपा नेपालले राजसंस्थाको एजेन्डालाई छोडेर हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाउने भएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र मूल एजेन्डा बोकेको राप्रपा नेपाल दोस्रो संविधानसभामा मुलुकको चौथो ठूलो शक्तिका रूपमा उदाएको थियो । विभाजित दलहरू एकीकरणपछि पछिल्लोपटक हालै भएको महाधिवेशनमा राजा ज्ञानेन्द्रको हस्तक्षेपका कारण राजेन्द्र लिङ्देनसँग आफू अध्यक्षमा हारेको भन्दै थापा पार्टीबाट अलग हुनुभएको थियो ।

थापाले नयाँ पार्टीका रूपमा राप्रपा नेपाल यही फागुन ७ गते घोषणा गर्ने बताउनुभएको छ । ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौं’, थापाले भन्नुभएको छ– ‘राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तनपछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो ।’

विगतका त्रुटि, कमजोरीहरूबाट पाठ सिकेर तथा गल्तीहरू सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर पाएको भन्दै उहाँले बीचमा अवरुद्ध भएको यात्रा अब नयाँ ऊर्जा र अठोटका साथ अघि बढ्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्