सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा



काठमाडौं ।

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्याउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोर्याउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि एमसीसीको मुख्यालयलाई प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड ठूलो दबाबमा पर्दै आउनुभएको छ । यद्यपि, उहाँले एमसीसी सम्झौतामा रहेको असमान बुँदा संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नसकिने अडान कायमै राख्नुभएको छ ।

यता, एमसीसीबारे छिटो निर्णय लिन अमेरिकाले समेत दबाब दिँदै आएको छ । प्रधानमन्त्री देउवा र अमेरिकाको दबाबपछि एमसीसीको बारेमा निर्णय गर्न प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवादसमेत गर्नुभएको छ । तर, जवाफमा ओलीले सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने विषय भएकाले आफ्नो पार्टीले अहिले नै निर्णय नगर्ने जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवा कुनै पनि हातलमा एमसीसी टेबल गरेर पास गराउने अडानमा अगाडि बढेपछि रोक्नको लागि प्रचण्डले ओलीसँग संवाद गरे पनि सकारात्मक जवाफ नपाएपछि सबैभन्दा बढी प्रचण्ड संकटमा पर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्ता गठबन्धन भत्काएर एमसीसी पारित गर्नुपर्ने दाउमा छ । सत्ता गठबन्धनले निर्णय नगर्दासम्म एमाले निर्णय नगर्ने बताउँदै आएको एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच एमसीसी संसद््मा टेबल भएको अवस्थामा प्रचण्ड र माधव नेपालले साथ नदिए पनि पारित गर्ने समझदारी भएको बताइएको छ । तर, एमाले एमसीसी टेबल गर्न तयार भएको हो भन्ने समाचारपत्रको जिज्ञासामा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो– ‘हाम्रो माग यथावत नै छ, माग सम्बोधन नभएसम्म संसद् चल्न दिँदैनौं ।’ उहाँले फागुन २ गते बोलाइएको संसद् बैठक केही दिन स्थगित गर्न सभामुखलाई आग्रह गरेको तर सभामुखबाट जवाफ नआएको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री देउवा भने आगामी फागुन २ गतेको लागि बोलाइएको संसद्को बैठकमै एमसीसी टेबल गर्ने गृहकार्यमा रहनुभएको छ । उहाँको दल नेपाली कांग्रेसले एकमतका साथ एमसीसी पारित गर्नुपर्ने निर्णय गरी अन्य दलहरूसँग संवाद अगाडि बढाएको छ । कांग्रेसका प्रवक्ता प्रकाशरण महतले सरकारले एमसीसी संसद्मा टेबल गर्ने सम्बन्धमा सभामुखले अन्यथा गर्न नमिल्ने बताउँदै सबै दल मिलेर पारित गर्नुपर्ने बताउनुहुन्छ । एमालेले संसद् अवरुद्ध गरिरहेको अवस्थामा कसरी टेबल हुन्छ भन्ने जिज्ञासामा महतले भन्नुभयो– ‘अब एमालेले संसद् अवरुद्ध गर्दैन, एमसीसी टेबल गराउन संसद् सञ्चालन गर्नुपर्छ ।’

माओवादीका नेता देव गुरुङले अहिलेकै अवस्थामा असमान बुँदा संशोधन नगर्दासम्म एमसीसी टेबल गराउन नहुनेमा जोड दिँदै भन्नुभयो– ‘गठबन्धनमा साझा सहमति जुटन सकेको छैन, संसद् अवरुद्ध छ, यस्तो अवस्थामा कसरी टेबल हुन्छ ?’

एमालेले संसद् अवरुद्ध नखोल्दासम्म सभामुखले एमसीसीलाई कार्यसूचीमा राख्न नसक्ने बताउँदै गुरुङले संविधान, कानुन, परम्परागत मूल्यमान्यताविपरीत रहेको एमसीसीलाई साझा सहमति निर्माण नगरी सभामुखले कानुनविपरीतको सम्झौता अगाडि बढाउने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसी पारित गर्न दबाब दिनु नेपालमाथि नाङ्गो हस्तक्षेप भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन मन्त्रालयमार्फत संसद्बाट पारित गर्ने बुँदा घुसाएर कानुनविपरीतको काम गरेको छ, त्यसलाई सल्ट्याउनुको अर्को विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्