सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता



बाँके ।

सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो ।

शाही थरकी महिलाले माघ १९ गते नेपालगन्जको अप्सरा होटलमा सांसद बानियाँले कण्डम लगाएर दुईपटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । गत सोमबार दिइएको जाहेरी बिहीबार दर्ता भएको हो । जाहेरी दर्ता नम्बर ३७२ रहेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले सांसद बानियाँविरुद्धको जाहेरी दर्ता भएको पुष्टि गर्दै अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बानियाँलाई नियन्त्रणमा लिइने बताउनुभयो ।

सांसद बानियाँले भने आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फसाइएको प्रतिक्रिया दिनुभएको छ । सांसद बानियाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘दुई लाख ५० हजार रुपियाँ लेनदेन थियो । त्यो पैसा नगदै दिएकाले चेक र कागज च्यात्नका लागि उसको कोठामा गएको थिएँ । केही दिनदेखि खटपट परिरहेको व्यक्तिसँग कसरी सम्बन्ध हुन्छ ?’ उहाँले आफ्नो राजनीति सिध्याउन मुगुकै केही व्यक्ति लागिपरेकाले त्यसमा महिला सामेल भएको दाबी गर्नुभयो । सांसद बानियाँले उक्त होटलमा आफ्ना सहयोगी र चालकसहित अरू व्यक्ति पनि रहेको र कागज च्यातिसकेपछि आफू अर्को कोठामा आएर सुतेको बताउनुभयो ।

ती महिलाले आफूलाई जाहेरी फिर्ता लिन चर्को दबाब आएको बताएकी छन् । जाहेरीका विषयमा बाँके प्रहरीले केही दिन अनुसन्धान गरिरहँदा महिलाले जिप्रकामै पुगेर जाहेरी दर्ता गर्न दबाब दिइरहेकी थिइन् । महिलाले आफूलाई न्याय दिन प्रहरीसमक्ष आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्