२ सय प्रकारका ६ लाखभन्दा बढी मतपत्र छाप्दै जनक शिक्षा



काठमाडौं ।

जनक शिक्षा सामग्री संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न पत्राचार गरेलगत्तै जनकशिक्षाले सो तयारी गरेको हो ।

निर्वाचन आयोगले मंगलबार करिब दुई साताभित्र सबै मतपत्र छपाइ सक्ने गरी मतपत्र छपाइ, व्यवस्थापन र मेसिनको अवस्थाबारे समेत तयारी गर्न केन्द्रलाई पत्राचार गरेको थियो । सोही आधारमा संस्थानले छपाइको गृहकार्य शुरू गरेको हो । केन्द्रका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता चित्रकुमार आचार्यले पहिलो चरणको काम शुरू भएको जानकारी दिँदै भन्नुभयो–‘आयोगको पत्र प्राप्त भएलगत्तै मंगलबार नै बैठक बसेर हामी तयारी अवस्थामा रहेको पत्र आयोगलाई पठाएका छौं । हामीले पहिलो चरणको छलफल सकाएका छौं, आवश्यकताको आधारमा पुनः बैठक बसेर थप निर्णय गर्नेछौं ।’

उहाँका अनुसार संस्थानले मतपत्र छपाइका लागि कार्ययोजना तयार गरी पठाइसकेको छ । उहाँले संस्थानसँग ९ वटा छपाइ मेसिन तयारी हालतमा रहेको र पाठ्यपुस्तक छपाइ गरेलगत्तै सबै मेसिन मतपत्र छपाइ गर्न प्रयोग गरिने जानकारी दिनुभयो ।

संस्थानले मतपत्र छपाइ गर्ने अन्तिम तयारी गरेपछि आयोगका अधिकारी केन्द्रको सानोठिमीस्थित मुख्यालय भ्रमण गर्ने भएका छन् । आयोगले मतपत्र छपाइको विषयमा गुणस्तर तथा नापतौल विभाग र मुद्रण विभागसँग पनि छलफल गर्ने भएको छ । केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले तोकिएकै समयमा सबै मतपत्र छपाइ गर्न सक्ने र आयोगले अन्तिम नामावली सार्वजनिक गरेपछि मात्रै मतपत्रको संख्या यकिन हुने बताउनुभयो ।

संस्थानलाई यो वर्ष कक्षा ९ सम्मको रंगीन पाठ्यपुस्तक छपाइ, एसईईको प्रश्नपत्र र कक्षा १२ को प्रश्नपत्र छपाइ गर्नुपर्ने भएकाले कामको चाप बढेको छ । कोरोना संक्रमणको कारण कागज आउन ढिलाइ भएकाले गत वर्षको तुलनामा पाठ्यपुस्तक छपाइमा समस्या देखिएको छ । यसैबीच, आयोगले केही जिल्लामा विद्युतीय मतदान गर्ने विषयमा बुधबार सूचनाप्रविधि विज्ञसँग छलफल गरेको थियो । त्यसलगत्तै मतपत्र छपाइ, मतपत्र संख्या, छपाइको अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्