पाथीभरा जाने सडक कालोपत्रे हुने



ताप्लेजुङ ।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्रे हुने भएको छ । वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्रे हुन भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे गर्ने कामका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सव इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपियाँँमा ठेक्का सम्झौता भएको छ ।

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्रे निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सव इन्जिनियर लिम्बूले बताउनुभयो । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्रे भइसकेको छ ।

पाथीभरा जाने सडक कालोपत्रे भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार अहिले वार्षिक रूपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरू पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्रे भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको संख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिले अपेक्षा राखेको छ ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको तीर्थयात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैंले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीय (लोकल) गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निक्कै सास्ती खेप्दै आएका छन् । अब पाथीभरा सडक कालोपत्रे बनेमा भने तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनुका साथै ठूलो राहत मिल्ने कार्यकारी निर्देशक काफ्ले बताउनुहुन्छ ।

यता पाथीभारा क्षेत्रको कालोपत्रे भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको संख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटल व्यवसायीहरूको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्