कालोपट्टी बाँधेर काम गर्दै चिकित्सक



तनहुँ ।

सदरमुकामस्थित दमौली अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन् । १८ महिनादेखि प्रोत्साहन भत्ता र ६ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आइतबारदेखि कालोपट्टी बाँधेर सेवा प्रवाह गरिहेका हुन् ।

चिकित्सकहरु सोमबार पनि कालोपट्टी बाँधेर काममा खटिएका थिए । तलबभत्ता नपाएको भन्दै कामकाज बन्द गर्ने घोषणा गरेका चिकित्सकले बिरामीलाई मर्का पर्नसक्ने भएकाले कालोपट्टी बाँधेर काम गरेको अस्पतालका मेडिकल अधिकृत डा. सिन्चन पाण्डेले जानकारी दिनुभयो । ‘काम नै बन्द गर्दा बिरामीलाई मर्का पर्छ भन्ने महसुस गरी हामीले आन्दोलनस्वरूप कालोपट्टी बाँधेर काम गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘यसरी आन्दोलन गर्दा पनि माग पूरा नभए थप कडा आन्दोलन गर्छौं ।

कामकाज बन्द गर्दा सर्वसाधारणलाई समस्या पर्न सक्ने भनेर प्रमुख जिल्ला अधिकारी र दमौली अस्पतालका प्रमुखले अनुरोध गरेपछि कालोपट्टी बाँधेर काम गरेको डा. पाण्डको कथन छ । ‘लामो समयदेखि पारिश्रमिकबिना काम गरिरहेका छौं, मेडिकल सुपरिटेण्डेटले यो वर्षको भत्ता उपलब्ध गराउँछौं भन्नुभएको छ, तर विगतदेखि नै तलबभत्ता उपलब्ध गराउँछौं मात्रै भनेर आश्वासनमा राख्ने गरेकाले आन्दोलनमा गर्नुको विकल्प नभएको हो ।’ उहाँ बताउनुहुन्छ ।

कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामका लागि प्रोत्साहन स्वरूप सरकारले जोखिमभत्ता दिने निर्णय गरे पनि अस्पतालमा कार्यरत चिकित्सकले भने तलबभत्ता नपाएको गुनासो गर्दै पहल गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष शुक्रबार ज्ञापनपत्र बुझाएका थिए ।

दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनील पौडेलले चिकित्सकलाई तलबभत्ता उपलब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । ‘यो समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण भइसकेकाले छिट्टै तलबभत्ता उपलब्ध हुने विश्वास लिएका छौं, माथिल्लो तहले गर्नुपर्ने विषय भएकाले यहाँबाट केही नलाग्ने देखिएको छ ।’ –उहाँले भन्नुभयो ।

अस्पताल व्यवस्थापन समिति पदाधिकारीविहिन हुँदा पनि चिकित्सकको तलबभत्ता निकासामा समस्या देखिएको डा. पौडेलले बताउनुभयो । ‘आर्थिक कारोबारको निर्णय व्यवस्थापन समितिको बैठकले पारित गर्नुपर्ने हुन्छ, अस्पताल पदाधिकारीविहिन छ, त्यसले गर्दा पनि तलब उपलब्ध गराउन समस्या भएको हो ।’ –उहाँले भन्नुभयो ।

अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जीव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले २०७७ साउनदेखि प्रोत्साहन भत्ता पाएका छैनन् । विशेषज्ञ चिकित्सकको ६ लाख ३८ हजार १ सय २०, मेडिकल अधिकृतको २६ लाख ६९ हजार ९ सय ४० र नर्सिङ अधिकृतको ५ लाख ५८ हजार १ सय ८० रुपियाँ गरी तलबबापतको ३८ लाख ६६ हजार २ सय ४० रुपियाँ भुक्तानी दिन बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्