विदेशस्थित नियोगबाट पहिलो ई-पासपोर्ट जारी



काठमाडौं ।

आइतबार परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरीएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो ।

विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङसमेत खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ । अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको जनाइएको छ ।

उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा शुरु हुनेछ । त्यस्तै यी बाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा संचालन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको जनाइएको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी रहेको राहदानी विभाग, त्रिपुरेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्