४० वर्षपछि पानी आउँदा स्थानीयबासी खुसी



काठमाडौं ।

ठमेलस्थित भगवती मन्दिर नजिक रहेको भीमशम्शेर जवराको पालामा बनेको ऐतिहासिक त्रि–भीम धारामा झन्डै ४० वर्षपछि धारामा पानी आउन थालेपछि स्थानीयबासी खुसी छन् । स्थानीय समाजसेवी शंकर (प्रभुलाल) जोशीको पहल र काठमाडौं उपत्यका खानेपानी आयोजना, महाराजगन्ज शाखाको सहयोगमा लामो सयमपछि पुनः पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् ।

शंकरकै पहलमा काठमाडौं महानगरपालिका–१६ का अधिकांश स्थानीयले विकास निर्माणका स्वाद चाख्न पाएका छन् । कुनै सार्वजनिक पद धारण नगरेका शंकरले १६ नम्बर वडामा खानेपानी, सडक निर्माण, ढलको विकासलगायतका कार्यमा सक्रिय भएर लाग्नुभएको छ ।

‘शंकरसँग १६ नम्बर वडाका अधिकांश जनता खुसी छन् । वडाका हरेक क्षेत्रमा खानेपानीको व्यवस्था, सडक निर्माणलगायतका कार्य गरेर यहाँका जनतालाई सुखसुविधा दिएका छन्’, १६ नम्बर वडाकै स्थानीयबासी सन्तोष श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विशेष गरी ४० वर्षदेखि पानी नआएको त्रि–भीम धारामा पानी आउने वातावरण बनाइदिएर शंकरले सार्है गुण लगाएका छन् । यहाँका बासिन्दा खुसी छन् ।’

दोलखाबाट काठमाडौं आई म्हैपीस्थित धर्मपुरी मार्गमा विगत ३६ वर्षदेखि बस्दै आएका शंकरले २०५४ सालदेखि विकास निर्माणका कार्य गर्न थालेको बताउनुभयो । उहाँले सबैभन्दा पहिले म्हैपीको प्रहरी चौकी अगाडि तरकारी बजारको व्यवस्थापन गरेको सम्झँदै आफूलाई समाजसेवा गर्न प्रेरणा मिलेको बताउनुभयो । ‘मैले २६ नम्बर वडाको हरेक टोलमा खानेपानी पुर्याएको छु । यसका लागि काठमाडौं उपत्यका खानेपानी संस्थान, महाराजगन्ज शाखाका प्रमुख तथा इन्जिनियर रमेश केसीले सहयोग गरिरहनुभएको छ । उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ’ – शंकरले भन्नुभयो ।

२६ नम्बर वडामा खानेपानीको पाइप तथा ठूला ट्यांकी राखी खानेपानी संस्थानबाट पानी भराई स्थानीय बासीलाई बिहानबेलुका पानी दिने व्यवस्था गर्नुभएको थियो । हाल धेरै ठाउँमा खानेपानीको पाइप बिच्छ्याई सकिएको उहाँको भनाइ छ ।

उहाँले म्हैपीस्थित चर्च वरपर १५ फिटको सडकलाई चौडा गरी २० फिट बनाइएको बताउनुभयो । हाम्रो एउटै आवाज–समृद्ध र विकसित समाज भन्ने नाराका साथ उनी अगाडि बढेका छन् । ‘शंकर त २६ नम्बर वडाका लागि भगवान् नै सावित भएका छन् । उनले सार्वजनिक पद नपाए पनि यतिका धेरै काम गरेका छन् भने सार्वजनिक पद पाएमा कस्तो गर्दा हुन् ?’ –स्थानीय रामसुन्दर अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्