बेथान्चोक गाउँपालिकामा भारी हिमपात,जनजीवन कष्टकर



मोतीराम तिमल्स्निा, काभ्रे ।

बेथान्चोक गाउँपालिकाका अधिकांश वडाहरूमा अविरल परेको हिमपातका कारण जनजीवन कष्टकर हुन थालेको छ । हिमपातका कारण बिजुली, खानेपानी लगायतका अत्यावश्यक सेवाहरू रोकिएका छन् ।

जिल्लाको अग्लो स्थान बेथान्चोक मन्दिरमा हरेक वर्ष दुई तिन पटक हिउ पर्ने गरेको भए पनि बस्तीहरूमा परेको हिमपात धेरै समय नटिक्ने गरेको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।

‘धेरै वर्ष पछि बस्तीमा परेको हिउँ अडिएको छ’–उहाँले भन्नुभयो–‘शुक्रवार परेको हिमपात रमाइलो भए पनि शनिवार बिहानै देखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।

स्थानीय होमस्टे व्यवसायी कमल नेपालले हिमपातका कारण सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको बताउनु भयो । ‘हिमपातका कारण बिजुली, पानी मात्रै नभई सर्वसाधारणको खेतीपातीमा समेत असर पु-याएको छ’– पर्यटन व्यवसायी नेपालले भन्नुभयो।

‘बेथान्चोकमा परेको हिउँ खेल्न आउनेहरुको संख्या पनि थपिन थालेको छ ।’ हिमपातका कारण ग्रामीण सडक अवरुद्ध भएको छ भने मुख्य सडकहरूमा हिमपातका कारण सडक अवरुद्ध हुन नदिन गाउँपालिकाले आवश्यक तयारी गरेको छ । हिमपातका कारण जेष्ठ नागरिक, दीर्घरोगी र बालबालिकाहरूलाई समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्