सरसफाइ गरेर मनाइयो सिमसार दिवस



रसुवा, (नेस) ।

विश्व सिमसार दिवस रसुवामा सरसफाइ गरेर मनाइएको छ । सिमसार सूचीमा सूचीकृत गोसाइँकुण्ड तालबाट बगेर आएको मिनी गोसाइँकुण्ड तालमा लामटाङ राष्ट्रिय निकुञ्जको आयोजनामा सरसफाइ भएको हो ।

‘मानिस र प्रकृतिका लागि सिमसार कार्य’ भन्ने नाराका साथ यस वर्षको सिमसार दिवस मनाइएको थियो । सरकारी अध्ययनले नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमासार क्षेत्र रहेको देखाएको छ । पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँ सिमसार हो । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदीकिनार र धानखेत समेत पर्दछ । सिमसार नासिँदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा समते पर्ने विज्ञले बताउँदै आएका छन् ।

सिमसार क्षेत्र पर्यावरण, जलचर र औषधि कन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी–पहिरो, अतिवृष्टि, अनावृष्टिलाई प्राकृतिकरूपमा सुरक्षा दिन्छ । उक्त सरसफाइमा साहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा, नेपाली सेनाका प्रमुख, जीवाईटीटीएसका अध्यक्ष, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्