चन्दको जन्मघरमै मनाइयो शहीद दिवस



बैतडी ।

शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आइतबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । साथै, शहीद चन्दको शालिकामा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरुले खेलेको भूमिकाका बारेमा चर्चासमेत गरिएको थियो । ‘हरेक वर्ष धुमधामका साथ दिवस मनाउँथ्यौं, यो वर्ष कोरोना कहरका कारण सीमित मानिसको उपस्थितिमा स्वास्थ्यका मापदण्ड अपनाएर श्रद्धाञ्जलीसभाको आयोजना गरेर मनायौं ।’ –उहाँले भन्नुभयो ।

शहीद दशरथचन्दको जन्मघर बैतडीको बसकोटमा पनि शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले ०५१ सालबाट शहीद दिवस मनाउँ आएको छ । स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिएको भए पनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष तेजप्रकाश भट्टले बताउनुभयो । ‘एक दिन मात्रै शहीदहरुलाई सम्झेर उनीहरुका सपना पूरा हुँदैनन् । उनीहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न सरकारको सहयोग आवश्यक छ ।’ –उहाँले भन्नुभयो ।
यस्तै, बैतडीको सदरमुकाम गढी खलंगामा रहेको दशरथचन्दको शालिकमा पनि स्थानीय संघ–संस्था तथा नागरिक समाजका व्यक्तिहरुले माल्यार्पण गरी दिवस मनाएका छन् । दिवसको अवसरमा शहीद चन्द जन्मेको यहाँको दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिएको थियो ।

तत्कालीन राणा शासनको विरोधमा उत्रिएका शहीद चन्दलाई काठमाडौंको शोभा भगवतीमा माघ १५ गते गोली हानी मारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्