शहीदको सपना पूरा गर्न देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री देउवा



काठमाडौं ।

शहीद सप्ताहको अन्तिम दिन हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा ज्ञात अज्ञात शहीदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्दै देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरू नै सच्चा शहीद भएको बताउनुभयो । शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ । यसले शहीदको सपना पूरा हुन्छ ।’

शहीद स्मारकमा गृहमन्त्री बालकृष्ण खाँण, शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका साथै जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कोभिड संक्रमणका कारण यसपटक शहीद दिवसमा आयोजित कार्यक्रममा सीमित व्यक्तिहरूको मात्र उपस्थिति रहेको थियो ।

स्वतन्त्रता र स्वाधीनताका लागि १९९७ सालमा प्राणको आहुति दिने शहीद र त्यसपछिका परिवर्तनहरूमा ज्यान गुमाउनेको सम्मानमा काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएको छ । कार्यक्रममा मेयर शाक्यले शहीदले देखाएको बाटोमा हिँडनुपर्नेमा जोड दिँदै भन्नुभयो–‘पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको हो । उहाँहरूलाई चाहिए जति सम्पत्तिका लागि शासकले प्रस्ताव गरेका थिए । तर, उहाँहरूले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसको लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि बलिदान दिन स्वीकार गर्ने चार र अन्य ज्ञातअज्ञात शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहका रूपमा मनाइँदै आएको छ । वि.सं. २०१२ देखि महानगरको संयोजकत्वमा गठित समितिले शहीद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । कोभिड संक्रमणका कारण यो वर्ष माघ १५ गतेसम्मका कार्यक्रमहरू औपचारिक सभाका रूपमा आयोजना गरिएका छैनन् ।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ को माघ १० गतेदेखि १५ गतेभित्र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । तीनै शहीदको वलिदान र सपनाको स्मरण गर्दै शहीद दिवस मनाउने गरिएको हो । वि.सं. १९९७ को माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पूर्णनारायणको सजायलाई पछि आजन्म कैदमा परिवर्तन गरिएको थियो । शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालोको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर तर्साउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि नतर्सेपछि ज्यान जाने गरी गोली हानिएको थियो । त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरूमा धेरै व्यक्तिहरू शहीद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्