स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै



काठमाडौं ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् ।

‘जोरबिजोरले गर्दा बस, टेम्पो र माइक्रोमा कोचाकच गरी यात्रा गर्नुपरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । यसलाई ध्यानमा राखेर सार्वजनिक सवारीमा शुक्रबारदेखि जोरबिजोर प्रणाली पनि हटाएका छौं । आइतबारदेखि भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुने विश्वास गरेका छौं’ –ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो ।

प्रशासनले भीडभाड कम गर्न गत सातादेखि सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । आर्थिक गतिविधि चालु गर्दै भीडभाड कम गर्ने उद्देश्यले सो प्रणाली लागू गरेपछि निजी सवारी साधन नहुने सर्वसाधारणलाई निकै सास्ती भएको पाइएको छ । अफिस जानआउन घण्टौं गाडी पर्खिएर पनि कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो । २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बसमा लागु नहुने स्थिति निम्तिएको थियो । सार्वजनिक यातायातमा मानिसको चाप बढ्ने भएकाले संक्रमण झन् फैलने विज्ञहरूले बताउँदै आएका थिए ।

‘सामाजिक सञ्जालमा सार्वजनिक सवारी साधनको अनुगमन गर्न आग्रह गर्दै सर्वसाधारणले प्रतिक्रिया यत्रतत्र लेखेका थिए । जोर–बिजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै चौतर्फी विरोध भएको थियो।नागरिकको सहजताका लागि जोर–बिजोर प्रणाली हटाइएको हो ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भन्नुभयो । स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । मापदण्ड पालना भएको वा नभएकोबारे अनुगमन गर्ने छौं ।’ उहाँले भन्नुभयो – ‘शनिबार बिदाको दिन भएकोले उपत्यकामा सार्वजनिक सवारी साधनको गति कम रहेको पायौं । आइतबारदेखि अनुगमन गर्ने छौं ।’

यद्यपि, निजी सवारी साधान (दुई पाङग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ । तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागु हुनेछैन । सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधनले भने बीच बाटोमा यात्रु नचढाउने गरी शुरूदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।

अन्य अत्यावश्यक तथा तोकिएका सवारी साधानलाई यसअघि जारी आदेशअनुसार नै हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागु हुने छैन ।

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, पानी, अण्डा, माछा मासु, पशुपंक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ । निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बैंक, बिमा, वित्तीय संस्था, वायु सेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्