राजमोमा विभाजन, नयाँ समितिको अध्यक्षमा पौडेल



दाङ ।

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो । जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहनुभएको छ ।

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिनुभयो । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो । जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहनुभएको थियो । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो ।

मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समूह बनाएको अध्यक्ष पौडेलको दाबी छ । ‘नेकपा (मसाल) को आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरू नसच्याएर आठौं महाधिवेशनले पारित गरेका नीतिहरूलाई गरिएका फेरबदल, थपघटका विषयसमेत नसच्चाएमा आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको छ’– सो समूहका एक नेताले भने– ‘अहिले हामीले नयाँ पार्टी बनाएको भन्दा पनि विचार समूहको रूपमा अन्तरसंघर्ष शुरू गरेका हौं, पार्टी फुटाउने वा जुटाउने के गर्ने भन्ने विषय अब मसाल नेतृत्वको जिम्मेवारी रहेको छ । समन्वय समितिले नेतृत्वलाई पर्खेर बस्न सक्ने अवस्थामा छैन ।’

मसालको आठौं महाधिवेशनअघि नै अल्पमत र बहुमतको संघर्ष चल्दै आएको थियो । अल्पमत पक्षलाई धमाधम कारबाही गर्न थालेपछि आफूहरूले संघर्षलाई विद्रोहकै उचाइमा उठाएको सो समूहको दाबी छ । तर, संस्थापन पक्षले भने पार्टीका विरुद्ध फुटवादी क्रियाकलाप गर्नेलाई कारबाही गरिएको बताउँदै आएको छ । विचार संघर्षभन्दा सो समूह फुटमा केन्द्रित रहेको र आफूहरूलाई दक्षिणपन्थी दाबी गर्ने सो समूह आफू बढी दक्षिणपन्थी बन्दै गएको एक नेकपा मसालका नेताको दाबी छ ।

मूल पार्टीबाट छुट्टिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । लोकेन्द्र लम्साल नेतृत्वको सो समूहका ६ जना माओवादी केन्द्रका केन्द्रीय सदस्य भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्