थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा



काठमाडौं ।

आहा ! रारा गोल्डकपको पाँचपटकको च्याम्पियन थ्रीस्टार क्ल्बलाई १–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वार्टरफाइनल खेलको दोस्रो हाफमा गोल गर्दै आर्मीले मनाङसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा परिवर्तित खेलाडी राजिब गुरुङले गोल गरे । खेलको शुरुआतदेखि नै निकै दबाबमा राखेको आर्मीले दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको छैटौं मिनेटमा थ्रि स्टारका डोना थापाको पासमा घनेफो अन्सुमना क्रोमहले भेट्न खोजे पनि आर्मीका गोलरक्षक विकेश कुथुले अघि बढ्दै क्लियर गरे । खेलको सातौं मिनेटमा आर्मीका प्रिन्स कार्कीले गोल गर्ने अवसर खेर फाले । उनले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल गोलरक्षक ग्लुमे प्रिसोले बचाउ गरे । लगत्तै आठौं मिनेटमा अर्को अवसर खेर फाले । डिफेन्स लाइनबाट आएको बललाई उनले नियन्त्रणमा लिदै अघि बढाए पनि रफेल बिडिस रिमले क्लियर गरे ।

१३औं मिनेटमा दीपक गुरुङको लामो थ्रोइन गोल पोस्ट नजिकै पुग्दा कप्तान भरत खवासले भेट्न नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो । २२औं मिनेटमा डोना थापाको लामो प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा थ्रिस्टार गोल गर्नबाट चुक्यो । ४२औं मिनेटमा प्रिन्स कार्कीको फ्रिकिक प्रहार गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे । खेलको ६०औं मिनेटमा प्रीन्स कार्कीको उत्कृष्ट फ्रिकिक प्रहारलाई गोलरक्षक प्रिसोले बचाउ गर्दा रिबाउन्ड भएको बलमा सेसहङ आङदेम्बेको प्रहार बाहिरियो ।

७०औ मिनेटमा राजिभ गुरुङले गोल गर्दै अग्रता दिलाए । प्रीन्स कार्कीको पासमा उनले गोल गरे । सेन्टरलाइन नजिकैबाट मिलाइ दिएको रनिङ पासलाई नियन्त्रणमा लिँदै गोलरक्षक डि एरिया बाहिर आइसकेको अवस्थामा फिनिसिङ गरेका थिए । उनी ६१‌‍‍औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका हुन् । ७७ औ मिनेटमा प्रीन्स कार्कीको प्रहार दोस्रोबार नजिकैबाट बाहिरियो । ८५औं मिनेटमा मिक्चेन तामाङको कर्नरलाई गोलरक्षक विकेशले पञ्च गरे पनि लाकेन लिम्बुको भली प्रहारलाई विजय भुजेलले ओभरहेड किक प्रयास गर्दा आर्मीका भरत खवासले हेड गर्दै जोगाए ।

अब आर्मीले बिहीबार मनाङ मस्र्याङ्दीसंग दोस्रो सेमिफाइनल खेल खेल्नेछ । भोलि एपीएफ र मच्छिन्द्रबीच पहिलो सेमिफाइनल खेल हुनेछ । पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको थ्रिस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शनी गरे पनि डिफेन्डर चिप्लिँदा गोल खान पुगको प्रतिक्रिया दिए । कप्तान अशोक खवास र निशान खड्का चोट मुक्त हुँदै खेल खेलेको कारण ब्यालेन्स नमिलेको बताए । आर्मीका प्रशिक्षक राजु तामाङले आहा रारा जित्नकै लागि आएको बताए । खेलाडीले पहिलो हाफमा पाएको अवसरको सदुपयो गर्न नसक्दा गोल सोचे जति नभएको उनले सुनाए ।

सेमिफाइनल खेलबाट दर्शक प्रवेश गराइने
कोरोना महामारीका कारण दर्शकबिना खेलाइएको २०औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार देखी दर्शकलाई प्रवेश दिइने भएको छ । क्वार्टरफाइनल खेलसम्म दर्शक प्रवेश रोक लगाइएको प्रतियोगितामा सेमिफाइनल खेलबाट भने दर्शक प्रवेश गराउने क्लबका अध्यक्ष रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताका लागि टिकट दर भने ३ सय रुपैयाँ कायम गरिएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लब र आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्