११ करोडको लागतमा मानव सेवा आश्रमको डीपीआर तयार

 निर्माण अगाडी बढाउन काठमाडाैंबाट नागार्जुनलाई फाइल हस्तान्तरण



न्युज अफ नेापल, काठमाडौं ।

काठमाडौँ जिल्लामा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापनका लागि काठमाडौँ जिल्लामा निर्माण हुने शहीद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमको डीपीआर तयार भएको छ ।

नागार्जुन नगरपालिका-६ मा बन्ने भवनको अबको निर्माण प्रक्रियालाई अगाडी बढाउन डीपीआर डिजाइन गरिरहेको काठमाडौँ महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगले नागार्जुन नगरपालिकालाई उक्त डीपीआर डिजाइन सहितको फाइल हस्तान्तरण गरेको हो ।

उक्त फाइल काठमाडौँ महानगरपालिकाका नगर प्रमुख एवं सहरी योजना आयोगका अध्यक्ष विद्या सुन्दर शाक्यज्यूले नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतज्यूलाई हस्तान्तरण गर्नुभएको हो ।उक्त निर्माण हुने भवनको सम्पूर्ण लगानी काठमाडौँ महानगरपालिकाले गर्ने र त्यसको व्यवस्थापन नागार्जुन नगरपालिकाले गर्नेछ । भवन निर्माण पश्चात् सडकमानको व्यवस्थापनका लागि भवन मानव सेवा आश्रमले सदुपयोग गर्नेछ ।

भवन निर्माणका लागि अनुमानित ११ करोडको लागत रहेको छ भने १८० जना सहयो गापेक्षी व्यक्तिहरू उद्धार गरी व्यवस्थापन गर्नका लागि २५ जना सेवामा रहने टिमको आवासीय सुविधा भवनमा रहनेछ ।कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उप प्रमुख हरि प्रभा खड्गीज्यू, नागार्जुन नगरपालिकाका योजना शाखा प्रमुख नारायण तिमिल्सिना, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

हाल मानव सेवा आश्रमले काठमाडौँ महानगरपालिका-२६, सामाखुसी र नागार्जुन नगरपालिका-१, रानीवनबाट २०५ जनाको संरक्षण गरिरहेको छ भने देशका सातै प्रदेशको १७ जिल्लाका २४ स्थानहरूबाट १६०० बढीको संरक्षण गरी देश भरि नै सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्