राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भीड



लमजुङ ।

लमजुङमा राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । राहादानी लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राही बढेका हुन् ।

पछिल्लो सातादेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि दैनिक ६० जनाभन्दा बढी सेवाग्राही आउने गरेको उहाँको कथन छ । नागरिकता लिन आउने सेवाग्राहीलाई यसअघि एकैसाथ राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने गरिए पनि सरकारले विद्युतीय राहदानी वितरण शुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचयपत्र बनाउने सेवाग्राही बढेको हुन् ।

एउटा मात्रै विवरण दर्ता केन्द्र शुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले अहिले सेवाग्राहीको चाप बढेपछि दुईवटा स्टेसनमार्फत सेवा दिएको छ । सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहमा समस्या भएपछि थप दुईवटा स्टेसनका लागि पञ्जीकरण विभागमा पत्राचार गरिएको प्रजिअ वैद्यले जानकारी दिनुभयो । दैनिक २५ जनालाई सेवा दिन सकिने स्टेसनमा सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाह गर्न समस्या भएको छ ।

गत वर्षबाट सरकारले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन शुरु भएको हो । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम शुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचयपत्र नआएको प्रशासनले जनाएको छ ।

तत्कालका लागि परिचयपत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर भने पाउने छन् । प्राप्त परिचयपत्र नम्बरको आधारमा राहादानी भर्न सकिने भएकाले पनि राहादानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचयपत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हाल प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको राष्ट्रिय परिचयपत्र जिल्लाका सबै स्थानीय तह र वडाबाट दिने गरी तयारी भइरहेको छ । देशका केही जिल्लामा सम्बन्धित वडाहरुमै उक्त सेवा प्रवाह शुरु भए पनि पहिलो चरणमा लमजुङ नपरेको प्रजिअ वैद्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्